नेटोमा स्वीडेनको सदस्यता रोक्ने टर्कीको चेतावनी

माघ १६, २०७९

उत्तर अटलांटिक सन्धि संगठन नेटोमा स्वीडेनको सदस्यता रोक्न सक्ने टर्किले चेतावनी दिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले स्वीडेनलाई नेटोमा सहभागिता गराउने विषयमा सहमति जनाउन नसकिने बताउनुभभएको हो । नेटोमा फिनल्याण्लाई भने सहभागि गराउन सकिने उहाँको भनाई छ ।

कुर्दिश लडाकु समूह र सरकारका अन्य आलोचकहरुसँग संलग्न भएका दर्जनौं व्यक्तिहरुलाई फिर्ता गर्न स्वीडेनले अवज्ञा गरेको एर्डोगानको भनाई उदृत गर्दै बीबीसीले जनाएको छ । स्वीडेन नेटोमा सामेल हुन चाहेको अवस्थामा आतंकवादीहरुलाई फिर्ता गर्नुपर्ने अडान एर्दोगानले अघि सार्नु भएको हो ।

टर्कीले दुई नर्डिक राष्ट्रहरुलाई सदस्यको रुपमा स्वीकार गर्न वार्ता स्थगित गरेको केही दिनपछि राष्ट्रपति एर्दोगानको सो टिप्पणी आएको हो । दशकौंको सैन्य असंलग्नता अन्त्य गर्दै स्वीडेन र फिनल्याण्डले गत वर्ष नाटोमा सामेल हुन आवेदन दिएका थिए ।

तिनीहरुको आवेदन सबै वर्तमान नेटो सदस्यहरुले सर्वसम्मतिले अनुमोदन गर्नुपर्छ । तर टर्की र हंगेरीले दुबैको आवेदनलाई अझै अनुमोदन गर्न नसकेको बीबीसीले जनाएको छ । स्वीडेन र फिनल्याण्ड दुवैले टर्कीलाई सैन्य उपकरण बिक्रीमा प्रतिबन्ध पनि हटाएका छन् । 


प्रतिक्रिया