गुठी विधेयक गुठीयार र सरकारको सहमतिको दस्तावेज : मन्त्री अर्याल

मंसिर २४, २०७६ | काठमाडौं

गुठीको भावना र परम्परा नमर्ने गरी गुठी विधेयक ल्याउन सरोकारवालाले सरकारसँग आग्रह गरेका छन् । विभिन्न स्थान, क्षेत्र अनुसार गुठीको पनि फरक–फरक विशेषता र समस्या रहेको भन्दै उनीहरुले गुठीको भावना र परम्परा नमर्ने गरी विधयेक ल्याउन सरकारसँग आग्रह गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसँग सम्बन्धित सरोकारवालासँग गरेको छलफलमा उनीहरुले गुठी संस्थानका बेवास्ताका कारण गुठीका जग्गाहरुको अतिक्रमण बढ्दै गएको गुनासो गरे । 

गुठीयार प्रकाश रायमाझीले गुठीलाई नियमन भन्दा पनि राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो । धर्म र परम्पराको आस्थामाथि प्रहार हुने प्रकारका कुनै पनि कानून नल्याउन आग्रह गर्नुभयो । अधिवक्ता जुजुकाजी महर्जनले गुठीका जग्गाहरु भू–माफियाले निजीकरण गरी अतिक्रमण गर्ने क्रम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । गुठीका जग्गाहरु अतिक्रमण भएको बारे गुठी संस्थानलाई पटकपटक जानकारी गराउँदा समेत बेवास्ता गरेको उहाँले आरोप लगाउनुभयो । 

जानकी मन्दिरका उत्तराधिकारी राम रोशन दासले सम्बन्धित गुठीयार र विज्ञसँगको सुझावको आधारमा मात्र विधयेक तयार गर्न सरकार समक्ष आग्रह गर्नुभयो । गुठी सहितको नयाँ एकीकृत भूमि विधेयक ल्याउनका निम्ति मन्त्रालयले गुठीसँग सम्बन्धित सरोकारवाला, विज्ञहरूसँग छलफल गरेको हो । छलफलका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले अब आउने गुठी विधेयक सरकार, सरोकारवाला र गुठीयारबीचको सहमतिको साझा दस्ताबेज हुने बताउनुभयो ।

मन्त्री अर्यालले विभिन्न चरणमा छलफल गरिसकेपछि सार्वजनिक सूचना माग गरेर समेत गुठी विधेयकका निम्ति सुझाव माग गरिने बताउनुभयो । मन्त्री अर्यालले यस विषयमा विद्धतसभाको आयोजना गर्न समेत गुठी संस्थानलाई निर्देशन दिनुभयो । 

जनताको भावनाको प्रतिनिधित्व नगर्ने विकासको बाधक बनेका कानून परिवर्तन गरेर आजको आवश्यकताको प्रतिनिधित्व गर्ने कानून बनाउने अभियानमा सरकार रहेको भन्दै उहाँले सहयोगका लागि सबैलाई आग्रह समेत गर्नुभयो । संरचना निर्माणको काम गुठी संस्थानको क्षेत्राधिकार भित्र नपर्ने उहाँले बताउनुभयो । 


प्रतिक्रिया