शिक्षा नीति औपचारिक रुपमा सार्वजनिक

मंसिर २५, २०७६ | काठमाण्डौं

– सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाउने उद्धेश्यसहित सरकारले औपचारिक रुपमा राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ । नीति पारित भएको एक महिना पछि सिंहदरबारमा पत्रकार सम्मेलन गरी सरकारले नीतिको पूर्ण पाठ सार्वजनिक गरेको हो । देशको आवश्यकता अनुरुपको मानव संशाधन विकासलाई प्राथमिकतामा राख्दै सरकारले छरिएर रहेका शिक्षा क्षेत्रका नीतिहरूलाई एकिकृत र संहिताबद्ध गरी एकिकृत राष्ट्रिय शिक्षा नीतिको खाँचो पूरा गर्ने उद्धेश्य सहित राष्ट्रिय शिक्षा नीति तर्जुमा गरेको स्पष्ट पारेको छ । शिक्षा नीति सार्वजनिक गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले शिक्षित, सभ्य, सक्षम जनशक्ति सामाजिक न्याय, रुपान्तरण र समृद्धि शिक्षा नीतिको दुरदृष्टि रहेको उल्लेख गर्नुभयो । 

सार्वजनिक नीतिमा बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित प्रारम्भिक बालविकास तथा शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनु, आधारभूत शिक्षामा सबैको सहज एवं समतामूलक पहूँच र निरन्तरता सुनिश्चित गर्दै सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त अनिवार्य तथा नि:शुल्क शिक्षाको प्रत्याभूति गरिने उल्लेख छ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गरी जीवनपर्यन्त शिक्षाका माध्यमबाट मर्यादित जीवनयापन गर्न सक्षम र प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने लक्ष्य सरकारको छ । नीतिमा उल्लेख भएका उद्धेश्य प्राप्तिका लागि तीनै तहका सरकार र अभिभावकसँग सहकार्य गरिने मन्त्री पोखरेलले बताउनुभयो । सरकारले सान्दर्भिक एवं गुणस्तरीय आधारभूत र माध्यमिक शिक्षामा सबैको पहूँच सुनिश्चितता गर्न औपचारिक, अनौपचारिक, बैकल्पिक र खुला शिक्षा प्रणालीको अवलम्बन गर्ने जनाएको छ । 

माध्यमिक शिक्षामा सरकार, निजी क्षेत्र र सहकारी समेतको सहभागितामा प्रभावकारी व्यवस्थापन गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई समेट्न विशेष सहुलियत दिने नीति अख्तियार गर्ने नीति समेत सरकारले लिने भएको छ । चिकित्सा शिक्षालाई सेवामूलक तथा गैरनाफामूलक बनाउन गुणस्तरीय, विवेकशील तथा सामाजिक दायित्वबोध भएका चिकित्साकर्मीहरूको उत्पादन गर्न चिकित्सा शिक्षा आयोगको सुदृढीकरण गर्ने र चिकित्सा शिक्षामा सक्षमतामा आधारित पाठ्यक्रम लागू गर्ने आज सार्वजनिक नीतिमा उल्लेख छ । 


प्रतिक्रिया