तोकिएको मितिमै पार्टीको निर्वाचन हुन्छ : सभापति देउवा

माघ १, २०७६ | विराटनगर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बहुमतबाट गरेका निर्णय सच्याउन आफू तयार रहेको बताउनु भएको छ । 

दोस्रो तहका नेताहरु पार्टी भित्रको विवाद समाधानका लागि सक्रिय रहेका बेला सभापति देउवाले समेत आफ्नो अडान छाड्ने संकेत गर्नु भएको हो । 

पछिल्लो समय जारी छलफल केन्द्रीय र प्रदेश बाहेक अन्य तहको महाधिवेशनको समय परिवर्तन गर्ने विषयमा केन्द्रित छ । 

दोस्रो तहका नेताहरु तरुण दल र नेवि संघको विवाद अन्त्यको पहलमा समेत सक्रिय रहेको कांग्रेसले जनाएको छ । 

गत आइतबार सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेटी केन्द्रीय समितले बहुमतबाट गरेका निर्णय सच्याउन आफू तयार रहेको बताउनु भएको थियो ।

यद्यपि, सभापति देउवाले तोकिएकै मितिमा पार्टी १४ औं महाधिवेशन लगायतका सबै निर्वाचन हुने दोहोर्‍याउनु भएको छ । 

कांग्रेसमा संस्थापन र संस्थापन इतर समूहबीच बढेको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु सक्रिया रहेका बेला सभापति देउवाले तोकिएकै मितिमा पार्टी महाधिवेशन हुने दोहोर्‍याउनु भएको हो ।

विराटनगरमा आज पत्रकारसँग सभापति देउवाले वरिष्ठ नेता पौडेल पक्षबीच सहमति भईसकेको उल्लेख गर्दै तोकिएकै समयमा पार्टीको सबै तहको निर्वाचन हुने बताउनुभयो । 

संस्थापन इतर पक्षको बहिस्कारकाबीच यही पुष ११ गतेको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको कार्यतालिका, विभागको संख्या थप लगायत महत्वपूर्ण निर्णय गरेको थियो । 

सभापति देउवाले बहुमतका आधारमा पार्टीलाई अघि बढाउन थालेपछि पौडेल समूहले पार्टीको बैठक बहिस्कार गर्दै आएको छ । 

फरक प्रसंगमा सभापति देउवाले बहुमतको सरकारले सभामुख चयन गर्न नसकेको अन्दै तत्काल संसदलाई सभामुख दिनुपर्ने बताउनुभयो । 


प्रतिक्रिया