दुर्गा प्रसाईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन प्रहरीलाई अनुमति

माघ २, २०७६ | काठमाडौं

जिल्ला प्रशासन कार्यालय भक्तपुरले, झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन प्रहरीलाई अनुमति दिएको छ । 

अभद्र व्यवहार अन्तर्गत प्रसाईविरुद्ध भक्तपुर प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले दुर्गा प्रसाईविरुद्ध सीडीओ कार्यालयबाट पक्राउ पुर्जी जारी भएको बताउनुभयो । 

सीडीयो कार्यालयबाट पक्राउ अनुमति पाएपछि भक्तपुरस्थित प्रसाई निवासमा प्रहरी टोली पुगेको थियो । तर, प्रसाईलाई प्रहरीले फेला पार्न सकेन । 

प्रसाईलाई पक्राउ गरी आफूलाई बुझाउन भक्तपुर प्रहरीले अन्य जिल्लाका प्रहरीसँग पनि सम्पर्क गरेको छ । 

प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै भक्तपुर प्रहरीमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिनुभएको हो ।

प्रसाईले गत साता काठमाडौंमा पत्रकार सम्मेलन गरी मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड रुपैयाँ घूस मागेको दाबी गरेका थिए । 

प्रसाईंले गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् । 


प्रतिक्रिया