कांग्रेसले सूचना विधेयकविरुद्ध बिरोध पत्र बुझायो

माघ ५, २०७६ | काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयक र नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी कानुन विरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् आज सरकारलाई विरोधपत्र बुझाएको छ ।

 ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् विधेयक सच्याउन माग गर्दै कांग्रेसले सरकारलाई विरोधपत्र बुझाएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो । उहाँले दुई विधेयकमा संविधानप्रदत्त नागरिक अधिकार हनन् हुने खालका प्रावधान राखिएकाले सच्च्याउन माग गर्दै विरोधपत्र बुझाएको बताउनुभयो ।

गत पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन् हुने निष्कर्ष निकाल्दै सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।

काठमाडौं जिल्ला कार्यसमितिले ज्ञापनपत्र बुझाउनु अघि माइतिघर मण्डलाबाट र्‍याली निकालेको थियो ।

यसैबीच, दाङको तुलसरीपुरमा सञ्चारकर्मीसँग सभापति शेरबहादुर देउवाले सरकार भ्रष्टाचार, अनियमितता र लुटपाटमा केन्द्रीत भएको आरोप लगाउनुभयो । कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्दै सरकारका गलत कामहरुको बिरोध गर्दै आएको उहाँको भनाई थियो । सरकारलाई मनपरी गर्न नदिन कांग्रेस सदैव चनाखो रहेको उल्लेख गर्दै देउवाले सरकारले प्रतिपक्षीको सुझावलाई ग्रहण नगरेको गुनाशो गर्नुभयो ।


प्रतिक्रिया