सापकोटालाई सभामुख बनाउन अध्यक्षद्वयबीच सहमति

माघ ५, २०७६ | काठमाडौं

अन्तत: लामो समयको रस्साकस्सीपछि सत्ता नेतृत्वकर्ता दल नेकपाका दुई अध्यक्ष, स्थायी समिति सदस्य अग्नीप्रसाद सापकोटालाई सभामुखको उम्मेद्वार बनाउन सहमत भएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आज बिहानभर भएको छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली लचक बने पछि सभामुखका लागि सहमति जुटेको हो । 

यद्यपि अध्यक्षद्वय ओली र दाहालबीच भएको सहमतिबारे पार्टीको सचिवालय बैठकले अन्तिम निर्णय गर्नेछ ।

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिनुभएको थियो । सो लगत्तैबाट सभामुखका लागि उम्मेद्वार छनोटको बहस सुरु भएपनि दुई अध्यक्ष आ–आफ्नै अडानमा कायम भएपछि निकास निस्कन सकेको थिएन । जसका कारण प्रतिनिधिसभाको पाँचौ अधिवेशन सुरु भएको एक महिनामा एक पटक मात्र बैठक बसेको छ । 

पटक पटक सूचना टाँसेर बैठक स्थगित हुँदा गलत सन्देश जाने भन्दै प्रतिनिधिसभा बैठक बस्नु एक दिन अघि दुई अध्यक्षले सहमति जुटाएका हुन् । बरिष्ठ नेता झलनाथ खनालले दुई अध्यक्षबीचको सहमतिमा सचिवालयले समर्थन गर्नै पर्छ भन्ने जरुरी नभएको बताउनुभयो । दुई अध्यक्षको तजविजले मात्र पार्टी चल्न नसक्ने उहाँको भनाई थियो ।

सभामुखका लागि उपसभामुख शिवमाया तुम्बाहाङ्फे, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, स्थायी समिति सदस्य सापकोटासहितको नाम चर्चामा थियो । सभामुखको उम्मेद्वारमा सहमति भएपछि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने बताउदै आउनु भएको छ ।


प्रतिक्रिया