स्थायी समिति सदस्य अग्नी सापकोटा सभामुखको उम्मेद्वार

माघ ५, २०७६ | काठमाडौं

लामो समयको रस्साकस्सीपछि अन्तत: सत्ता नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी समिति सदस्य अग्नी सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको छ । आफ्नै कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेपछि गत असोज १४ गते कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि सो पद खाली थियो । 

झण्डै चार महिना अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा कायम रहेपछि निकास निस्कन सकेको थिए । दुई अध्यक्षबीच बिहान झण्डै २ घण्टा भएको छलफलमा सिन्धुपाल्चोक क्षेत्र नम्बर एकबाट निर्वाचित सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने सहमति जुटेको थियो । 

अध्यक्षहरुबीच सहमति जुटेलगत्तै काठमाडौंको वालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह बसेको सचिवालय बैठकले सांसद सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले बताउनुभयो ।

एमालेसँग पद बाँडफाँटका क्रममा तात्कालिन समय सभामुख माओवादीको भागमा परेको थियो । पार्टी एकीकरणको २० महिना हुँदा समेत माओवादीले सोही अडान दोहोर्‍याएको थियो भने एमाले धारले एकीकरणपछि भागवण्डा अन्त्य भएको तर्क गर्दै संसदीय दलका उपनेता सुवास नेम्बाङलाई बनाउनु पर्ने अडानमा थिए ।

पूर्वसहमति नै कार्यान्वयन हुनु पर्ने भन्दै दबाब दिन अध्यक्ष दाहाल, बरिष्ठ नेता झलनाथ खनालसहितका नेता बामदेव गौतमको घरमा भेला भएपछि प्रधानमन्त्री ओली थप रुष्ट बन्नु भएको थियो । 

नेकपाले सभामुखको उम्मेद्वार चयन गर्न नसकेपछि प्रतिनिधिसभा समेत अनिर्णयको बन्दी भएको र बारम्बर सूचना टाँसेर बैठक स्थगित गर्दा जननिर्वाचित संस्थाको अपमान भएको भन्दै बिरोध हुन थालेपछि अध्यक्षद्वय दबाबमा आएका थिए ।

नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा पुस ४ गते बोलाइएको प्रतिनिधि सभाको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको छ । नेकपाले सभामुखको उम्मेदवार टुङ्ग्याएपछि संसदको गतिरोध पनि खुल्ने भएको छ ।

नेकपाले सभामुखका लागि उम्मेद्वार तय गरेपछि संसदीय गतिरोध समेत अन्त्य भएको छ । प्रतिनिधि सभाको भोली बस्ने बैठकबाट सभामुख चयन प्रक्रिया सुरु हुनेछ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले समेत नेकपाले सभामुखका लागि उम्मेद्वार तय गरेपछि राजीनामा दिने बताउदै आउनु भएको थियो ।  


प्रतिक्रिया