संसदको बैठक आज बस्दै

रेडियो कान्तिपुर संवाददाता

माघ ६, २०७६ | काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेद्वार चयन गर्न नसक्दा ४ पटक सुचना टाँसेर स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुनेछ । नेकपा सचिवालय बैठकले सभामुखमा अग्नी सापकोटालाई उम्मेद्बार बनाउने निर्णय हिजो गरेसँगै संसदको गतिरोध अन्त्य हुने संकेत मिलेको हो ।

 तर, सभामुखको निर्वाचनको कार्यतालिका सार्बजनिक भइ नसकेको संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले जानकारी दिनुभयो । नेकपाले सभामुखमा उमेद्वारी दिनुअघि उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा आउनुपर्ने भएकाले त्यसको गृहकार्य पनि सँगै अघि बढ्नेछ । त्यसअघि नेकपा नेतृत्वले अबको प्रक्रिया र उपसभामुखको राजीनामाबारे तुम्बाहाङ्फेसँग छलफल समेत गर्दैछ ।

 सोही छलफलका आधारमा संसद सचिवालयले बैठकको कार्यतालिका तय गर्नेछ । नेकपा नेतृत्वसंगको छलफलपछि मात्र उपसभामुख तुम्बाहाङ्फेले पदबाट राजीनामा गर्ने तयारी गर्नुभएको छ । उहाँको राजीनामापछि जेष्ठ सदस्यका हैसियतले राजपा नेता महन्थ ठाकुरले संसद संञ्चालन गर्नुहुनेछ । ठाकुरकै अध्यक्षतामा प्रतिनिधि सभाको सभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।   


प्रतिक्रिया