उपसभामुख तुम्बाहाङ्फेद्वारा पदबाट राजीनामा

माघ ६, २०७६ | काठमाडौं

प्रतिनिधि सभाको आजको पहिलो बैठकको अध्यक्षता गरे लगत्तै उपसभामुख तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुभएको थियो । 

सभामुख चयनका लागि नेकपालाई सहज बनाउन भन्दै उहाँले बैठकमै राजीनामा घोषणा गर्नुभएको थियो । 

सभामुखलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उहाँले संविधानको धारा ९१ (६) को खण्ड ख तथा प्रतिनिधिसभा नियामावली २०७५ को नियम २११ को १ बमोजिम आजैबाट लागू हुने गरी राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

बैठकलाई सम्बोधन गर्दै उहाँले लामो समयसम्म प्रतिनिधि सभा सभामुखबिहीन भएकाले जटिलता उत्पन्न भएको बताउँदै आफूले राजीनामा दिएर मार्गप्रशस्त गर्ने उल्लेख गर्नुभयो । 

सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्ग प्रशस्त गर्ने भनेर सार्वजनिक रुपमा राखेको मान्यता पनि अभिलिखित गराउन चाहेको उहाँको भनाई थियो ।

प्रतिनिधिसभामा सभामुख र उपसभामुख फरक/फरक दलको र फरक/फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । 

प्रतिनिधि सभामा बहुमत प्राप्त नेकपाले सभामुखको दाबी कायम राखेपछि तुम्बाहाङ्फेले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुभएको हो । 

नेकपाले सभामुखका लागि स्थायी समिति सदसय अग्नि सापकोटालाई अघि सारेको छ । 

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए । त्यसयता सभामुख पद खाली छ । 


प्रतिक्रिया