कांग्रेसका केन्द्रीय नेता १४ औँ महाधिवेशन र समसामयिक विषयमा छलफलमा जुट्दै

माघ १३, २०७६ | काठमाडौं

कांग्रेसका केन्द्रीय नेता १४ औँ महाधिवेशन र समसामयिक विषयमा छलफलमा जुट्दै नेपाली कांग्रेसको केन्द्रीय समितीको बैठक आज बस्दैछ । पार्टीको १४ औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय दिउँसो १ बजे बस्ने बैठकमा यसअघि शीषै नेताबीच भएको सहमति अनुसार आगामी रणनीति तय हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यसअघि गत शुक्रबार बसेको बैठकले १४ औं महाधिवेशनको मिति यथावत राखी तल्ला तहको कार्यतालिका संशोधन गर्ने, क्रियाशिल सदस्यता छानविन समिति बनाउने, नेविसंघको महाधिवेशन आयोजक समिति गठन गर्ने लगायत सहमति भएको थियो ।

आजको बैठकले सोही सहमति अनुमोदन गर्ने नेताहरुले बताएका छन् । संस्थापन र ईतर पक्षबीचको विवाद मत्थर भएसँगै महाधिवेशनको मितिमा सहमति बनेको हो । आजको बैठकले महाधिवेशनको कार्यतालिकासँगै समसामयिक विषयमा धारणा तय गर्ने प्रवक्ता शर्माले बताउनुभयो । 

महामन्त्री शंशाक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रमेश लेखक र मीनेन्द्र रिजाल सम्मिलित कार्यदलले तयार पारेको खाका अनुसार दुबै पक्ष सहमतिमा पुगेका हुन् । गत पुष ११ गतेको बैठकबाट पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, विधानको दफा निलम्वन, विभाग थप, भ्रातृ संस्थाका कार्यसमितिको पदावधी थप गरी ६ महिनाभित्र अधिवेशन गराउने निर्णय गरेको थियो । सो निर्णय सच्याउने सहमति शीर्ष नेताबीच भएपछि गत मंसिर २६ गतेदेखि बैठक बहिष्कार गर्दै आएको इतरपक्ष आजको बैठकमा बस्न तयार भएको हो ।  


प्रतिक्रिया