आफूविरुद्धको विरोध लोकतान्त्रिक पद्धतिभित्रको नियमित प्रक्रिया : सभामुख

माघ १३, २०७६ | काठमाडौं

नवनियुक्त सभामुख अग्नीप्रसाद सापकोटाले आफूविरुद्ध भएको विरोध प्रदर्शनलाई लोकतान्त्रिक पद्धतिभित्रको नियमित प्रक्रियाको संज्ञा दिनुभएको छ । 

सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग उहाँले अदालतमा रहेको विषयमा बोल्नु परिपक्वता नहुने बताउँदै बाहिर उठेका प्रश्नहरु निरुपण हुँदै जाने विश्वास ब्यक्त गर्नुभयो । 

सार्वजनिक महत्वका विषयलाई प्राथमिकतामा राखेर आफू अघि बढ्ने बताउँदै सभामुख सापकोटाले सदनमा दर्ता भएका विधेयकहरु अध्ययन गरेर प्राथमिकताका आधारमा अघि अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

एमसीसीबारे अनुमोदन गर्न हतार गर्न नहुने बताउँदै उहाँले विस्तृत अध्ययनपछि मात्र अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । 

आफूलाई प्रतिपक्षले पनि स्वीकार गरेकाले सबै दललाई विश्वासमा लिएर अगाडि बढ्ने सापकोटाको भनाई थियो ।

सो अघि राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख सापकोटाले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । 

सापकोटाले भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुहुनेछ । सापकोटा हिजो मात्र सभामुखमा निर्विरोध निर्वाचित हुनु भएको थियो ।

यसैबीच, सभामुख पदमा निर्वाचित भएपछि सापकोटाले नेकपाको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनु भएको छ । 

पदभार ग्रहणपछि एक विज्ञप्ति जारी गर्दै उहाँले स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न पार्टीको सम्पूर्ण जिम्मेवारीबट अलग भएको उल्लेख गर्नुभएको हो । सापकोटा नेकपाको स्थायी समिति सदस्य हुनुहुन्थ्यो । 


प्रतिक्रिया