कान्तिपुर पब्लिकेसन्स २८ औँ वर्षमा प्रवेश

फाल्गुन ७, २०७६ | काठमाडौं

कान्तिपुर पब्लिकेसन्स आजदेखि २८ औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसका केएमजीका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले सम्पूर्ण ग्राहक, पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरुमा धन्यवाद ज्ञापन गर्नुभएको छ । मुलुकमा संवैधानिक संक्रमणको अन्त्य र राजनीतिक स्थायित्वको आगमनसँगै पत्रकारिताको दायरा अरू फराकिलो भई फस्टाउने अध्यक्ष सिरोहियाल बताउनुभएको छ । 

यद्यपी पछिल्ला समय देखा परेका परिदृश्य र त्यसबीच अनुदारवादी कानुन ल्याई संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई कस्ने कोसिस भइरहेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । जस्तोसुकै प्रतिकूलताको प्रभाव समाजका अन्य क्षेत्रमा झैं पत्रकारितामा पनि परेको छ भन्दै त्यसबाट अप्ठेरो महसुस भएपनि निष्पक्ष पत्रकारिताप्रति हाम्रो निष्ठामा किञ्चित कमी नआउने उहाँको भनाई छ ।

 कान्तिपुरले जनतालाई सही सूचना तपाईंको अधिकार भन्ने मर्मसाथ पत्रकारिता अभ्यास गर्दै आएको छ र गरिरहने उहाँको भनाई छ । मुलुक अझ समाजप्रति उत्तरदायी रही निजी क्षेत्र र सरकारी निकायहरूबीच सार्थक संवाद होस् भनेर कान्तिपुर इकोनमिक समिटमार्फत विभिन्न विज्ञ, राजनीतिक नेतृत्व, प्रशासक र उद्योगी–व्यवसायीबीचको संवादका लागि पुलको काम गरेको उहाँले बताउनुभयो । यस्तै कान्तिपुर कन्क्लेभ जस्ता कार्यक्रममार्फत स्वदेश–विदेशमा रहेका वत्ताबीचमा सारगर्भित छलफल गरी सामाजिक उत्तरदायित्वको बहन गरिरहेको उहाँले बताउनुभयो ।

डिजिटल संस्करणहरूलाई अद्यावधिक एवं आकर्षक बनाउने काम भएको र सबै प्रकाशनलाई अझ राम्रो बनाउन सजगताका साथ निरन्तर लागिपरेको उहाँको भनाई छ । पाठकहरुका रुचि र सरोकारलाई आत्मसात गर्दै आफ्ना सामग्रीहरुलाई थप विविधीकरण गर्ने र अझ अनुसन्धानमूलक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष सिरोहियाले कान्तिपुर मिडिया ग्रप मुलुकको अग्रणी व्यावसायिक सञ्चार प्रतिष्ठान भएकाले यो राष्ट्रको विकासमा अभिन्न रुपले जोडिएको उल्लेख गर्नुभएको छ ।


प्रतिक्रिया