एमसीसी अध्ययन कार्यदलले प्रतिवेदन बुझायो

फाल्गुन ९, २०७६ | काठमाडौं

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे अध्ययन गर्न सत्तारुढ नेकपाले गठन गरेको कार्यदलले नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १० दिनको म्याद लिएर गत माघ १९ गते गठित कार्यदलले थप १० दिनको समय लिएर अध्ययन प्रतिवेदन तयार पारेको हो । 

एमसीसीबारे पार्टी भित्रै विरोध भएपछि नेकपाको केन्द्रीय कमिटी बैठकले खनालको संयोजकत्वमा नेताहरु प्रदिप ज्ञवाली र भिम रावल सदस्य रहेको कार्यदल बनाएको हो । कार्यदलले आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

दस्तावेज अध्ययन तथा विश्लेषणसंगै बिज्ञहरुसंगको छलफलपछि कार्यदलले ६० पृष्ठ लामो सुझाव सहितको प्रतिवेदन तयार बनाएको हो । कार्यदलले यथास्थितीमा एमसीसी संसदबाट अनुमोदन गराउन नसकिने आशयको प्रतिवेदन तयार पारेको छ । यसमा गम्भीर अध्ययनको आवश्यक्ता औल्याउदै प्रतिवेदनमा सार्वभौमसत्ताको मामलामा चुक्न नहुने सुझाव दिईएको छ । 


प्रतिक्रिया