प्रदेश २ सरकारमा सहभागि हुन कुराकानी हुँदैछ : दाहाल

फाल्गुन ११, २०७६ | जनकपुर

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा सरकार परिवर्तनको संकेत गर्नुभएको छ । सरकारमा सहभागि हुनका लागि नेकपाले सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा) संग कुराकानी भइरहेको अध्यक्ष दाहालको भनाई थियो । 

धनुषाको ठेरा कचुरीमा आज १५ दिने माध्यमिकी परिक्रमाको शुभारम्भ समारोहमा सहभागि भएका नेकपा अध्यक्ष दाहालले यद्यपि सो बारे ठोस निर्णय भने भइनसकेको बताउनुभयो । दुबै पार्टीसंग कुरा भइरहेपनि सरकारमा सहभागि हुने मिति तोक्ने स्थिति भने सृजना भइनसकेको उहाँको भनाई थियो । 

उहाँले भन्नुभयो, ‘दुबै पार्टीसंग कुरा चलिरहेपनि सरकारमा सहभागि हुने मिति तोक्ने स्थिती अहिले छैन । अहिलेलाई यति नै भन्नु ।’

राजिनामा गरिसकेका सञ्चार तथा सूचना मन्त्री गोकुल बास्कोटाको प्रसङ झिक्दै नेकपाका अध्यक्ष दाहालले सत्तामा हुँदा कम्यूनिष्ट नराम्रो हुने रोग नेपालमा पनि ‘अलिअलि’ देखापरेको बताउनुभयो । तीन दिनअघि भक्तपुरको एउटा कार्यक्रममा कम्यूनिष्टको चरित्रबारे दाहालले बोलेको कुराको प्रष्टीकरण समेत दिनुभायो ।

उहाँले सत्तामा हुँदा कम्यूनिष्ट नराम्रो हुने संसारभरको कुरा बोलेको दाबी गर्दै नेकवपाको बारेमा मात्र कुरा गनरेको प्रष्ट पार्नुभयो ।

दाहालले भन्नुभयो, ‘कम्यूनिष्टहरु संघर्ष गर्दासम्म राम्रो । सत्तामा पुगेपछि नराम्रो हुने रोग विश्वभरी लाग्या छ । हामीले त्यो रोगको उपचार गर्नैपर्छ भनेर अपिल गर्न खोजेका हौं । हामी कहाँपनि अलिअलि त्यो रोग देखा पर्न खोजिरहेको छ । त्यही बेला सञ्चारमन्त्रीको कुरा आयो । त्यस कारण त्यो सन्दर्भमा पार्टीलाई सर्तक गराउन भनेको हुँ ।’

नेकपा अध्यक्ष दाहालले सञ्चारमन्त्री बाँस्कोटाको प्रकरण छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानविन गर्ने बताउँदै त्यो मामिलासंग जोडिएको हरेक विषयमा सम्बन्धित सबैले छानविन गर्ने बताउनुभयो । ‘सञ्चारमन्त्री प्रकरणमा छानविन हुन्छ । लेखा समितिमा पनि छलफल भइरहेको छ,’ दाहालले भन्नुभयो । 


प्रतिक्रिया