नेपालको मानव अधिकारको अवस्था सुधारोन्मुख तर सन्तोषजनक छैन : विजयराज गौतम, कार्यकारी निर्देशक, इन्सेक

फाल्गुन १२, २०७६

The Headliners | Journalist Pawan | 24 February 2020 | 12 Falgun 2076

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतमले सन् २०१९ मा नेपालको मानव अधिकारको अवस्था सुधारोन्मुख रहे पनि सन्तोषजनक नरहेको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै गौतमले अघिल्लो वर्षभन्दा सन् २०१९ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा १ हजार ५ सय ३२ जना बढी पीडित भएको बताउनुभयो । सबैभन्दा धेरै महिला हिंसाका घटना दर्ज भएको उहाँले उल्लेख गर्नुभयो । बेचबिखन, कथित बोक्सी आरोप, बलात्कार, बलात्कार प्रयास, बहुविवाह, घरेलु हिंसा, यौन दुव्र्यवहार, प्रसुति सेवाबाट वञ्चित र गर्भपतन लगायत घटनामा ३ हजार ३ सय ६४ महिला पीडित भएको गौतमले बताउनुभयो । त्यस्तै बाल अधिकारका क्षेत्रमा पनि सन् २०१९ त्यति सकारात्मक नरहेको दृष्टान्त उहाँले पेश गर्नुभयो । बालश्रम, बालबालिका बेचबिखन तथा ओसारपसार, यौनजन्य हिंसा, शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चिती जस्ता बालअधिकार हननका घटनामा कमी आउन नसकेको गौतमले बताउनुभयो ।

त्यस्तै सशस्त्र द्वन्द्वको समाप्तिपछि पनि संक्रमणकालीन न्यायका सवाल जस्ताका तस्तै रहेको उहाँले बताउनुभयो । यसबारे खास प्रगति हुन नसक्नुले पनि पीडितलाई थप पीडा दिने काम मात्रै गरेको गौतमको भनाइ थियो ।


प्रतिक्रिया