नेकपाको सचिवालय बैठक बस्दै

फाल्गुन १४, २०७६ | काठमाडौं

सरकारका कामकारवाही र पछिल्ला घटनाक्रमबारे छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । संबिधान संसोधनका लागि कार्यदल गठन, पूर्वमन्त्री गोकुल बास्कोटाको विवादास्पद अडियो टेप प्रकरण लगायत विषयमा सचिवालय बैठकमा छलफल हुन लागेको हो ।

 बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान ११ बजे बोलाईएको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे पनि छलफल हुने सचिवालय सदस्य बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । आन्तरिक शक्ति सन्तुलनमा भएको फेरबदलसंगै पार्टीभित्र देखा परेका समस्या समाधानका बिषयमा पनि आजको बैठकमा छलफल गर्ने नेकपाको तयारी छ । शनिबार बसेको बैठकमा संबिधान संसोधनका लागि कार्यदल गठन गर्ने प्रस्ताव आएपछि बिभाजित भएका शीर्ष नेताहरु एक साता नबित्दै पुन छलफलमा जुट्न लागेका हुन् ।

सरकारका कामकारबाही तथा नेताहरुको कार्यशैलीलाई लिएर प्रमुख प्रतिपक्षीसंगै आफ्नै दलका सांसद तथा जनताले बिभिन्न माध्यमबाट चर्को बिरोध गरेपछि नाजवाफ बनेको नेकपाले आजको बैठकबाट स्पष्ट धारणा बाहिर ल्याउने संभावना छ । त्यस्तै प्रदेशगत रुपमा जारी पार्टी कार्यकर्ता प्रशिक्षणको रणनिती र कार्यकर्ता परिचालनका बिषयमा पनि छलफल हुने बरिष्ठ नेता खनालले जानकारी दिनुभयो ।

सचिवालय बैठक अघी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालवीच पनि छुट्टै भेटवार्ता समेत हुदैछ । अध्यक्षद्धयले सचिवालय बैठकको एजेण्डा तय गर्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । 


प्रतिक्रिया