उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा लैजाने नेकपाको निर्णय

फाल्गुन १४, २०७६ | काठमाडौं

सत्ता नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि सिफारिस गर्न सरकारसँग आग्रह गरेको छ । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित वर्तमान अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल यही फागुन २० गते सकिने भएपछि सो पदमा नेकपाले उपाध्यक्ष गौतमलाई अघि सारेको हो । 

५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाई अर्थात १९ जनाको कार्यकाल फागुन २० मा सकिदैछ । १८ जना भने गत माघ ९ गते भएको निर्वाचनबाट निर्वाचित भइसकेका छन् । 

प्रतिनिधिसभामा पराजित नेकपा प्रवक्रा नारायणकाजी श्रेष्ठ सोही निर्वाचनबाट राष्ट्रिय सभा सदस्य चुनिसक्नु भएको छ । 

प्रतिनिधिसभामा पराजित गौतमले राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन नभएसम्म सदस्य नबन्ने अडान लिंदै आउनुभएको थियो । 

सोही अडानका कारण गत माघ ९ गते भएको राष्ट्रिय सभा निर्वाचन नलडेका गौतम अन्तत: राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने कोटाबाट संसद छिर्न भने तयार हुनु भएको हो ।

काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्दै सिफारिसका लागि सरकारलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपाले संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाइएको भनिए पनि त्यो क्रियाशील नहुने स्पष्ट पारेको छ । 

संविधान संशोधन आवश्यकताअनुसार हुँदै जान सक्ने भएकाले अहिले नै कार्यदल बनाउन नपर्ने निष्कर्ष बैठकले निकालिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया