राष्ट्रपति भण्डारी ४ दिने भ्रमणका लागि सूदुरपश्चिममा

फाल्गुन १४, २०७६ | काठमाण्डौं

– राष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने भ्रमणका लागि सुदूरपश्चिम प्रदेश पुग्नु भएको छ । भ्रमणका क्रममा उहाँ, बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यक्रम छ । पहिलो दिन आज राष्ट्रपति भण्डारीले कैलालीको धनगढीमा शुरु भएको विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्नुभयो । 

यस्तै शिवनगर खानेपानी आयोजनाको निरीक्षण समेत गर्नु भएको छ । भोलि बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विषेश पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले भोलि

अपरान्ह पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ पौडेलले बताउनुभयो । सोही कार्यक्रममा पाटन नगरपालिका र सम्पूर्ण जिल्लावासीको तर्फबाट राष्ट्रपतिलाई पाटनमै नागरिक अभिनन्दन गरिनेछ । यसैबीच बैतडीको पाटन नगरपालिकाले राष्ट्रपति भण्डारी जाने भएपछि भोलि सावर्जनीक बिदा दिएको छ ।

त्यसअघि भोली बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुनधाममा पनि राष्ट्रपतिले विषेश पूजाआजा गर्ने कार्यक्रम छ । मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरको नवनिर्मित भवनको उद्घाटनका साथै नागरिक अभिनन्दनको कार्यक्रम छ ।

यस्तै १६ गते बिहान डडेल्धुरास्थित उग्रताराको दर्शन र दिउँसो कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारी १७ गते काठमाण्डौं फर्किने कार्यतालिका छ । 


प्रतिक्रिया