संघीय सरकार मातहतका कर्मचारीले सहयोग गरेनन् : मुख्यमन्त्री राउत

फाल्गुन २२, २०७६ | जनकपुर

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार मातहतका कर्मचारीले ‘असहयोग’ गरेको गुनासो गर्नुभएको छ । प्रदेश प्रमुख तिलक परियारसंग आज भेट गरी मुख्यमन्त्री राउतले गतवर्षको ८६ करोड रुपैयाँ भुक्तानीमा कर्मचारी तगारो बनेको भन्दै सहजीकरण गरिदिन आग्रह पनि गर्नुभयो । 

मुख्यमन्त्री राउतसंगै प्रदेशसभाका सभामुख सरोज यादव र न्यायधिवक्ता दीपेन्द्र झाले आज विहान प्रदेश प्रमुख परियारसंग भेटवार्ता गरेका हुन् । प्रदेश सरकार र प्रदेशसभा दुबैले गतवर्षको भुक्तानी गर्न निर्णय गरेपनि कर्मचारीका असहयोगले समस्या झांगिएको उनीहरुले प्रदेश प्रमुखसमक्ष गुनासो गरे । 

भुक्तानी नगरे संघीय सरकारबिरुद्ध धर्नामा बस्ने चेतावनी दिइसकेका मुख्यमन्त्री राउत कर्मचारीको गुनासो बोकेर पहिलो पटक प्रदेश प्रमुखकोमा पुग्नुभएको हो । कर्मचारीका असहयोगका कारण भुक्तानी रोकिएको र सोही कारणले प्रदेशसभाको बैठक सञ्चालन हुन नसकेको मुख्यमन्त्री राउतले बताउनुभयो ।

गत आर्थिक वर्षमा प्रदेश सरकारका ५ वटा विकासे मन्त्रालयले उपभोक्ता समितिमार्फत सम्पन्न गरेका ८ सय १४ वटा योजनाको भुक्तानी रोकिएको छ । भदौंयता प्रदेश सरकार र प्रदेशसभा दुबै निकायले भुक्तानी झमेला सल्टाउन प्रयास गरेपनि सम्भव हुन सकेको छैन । 


प्रतिक्रिया