भोलि बिहान ६ बजेदेखि लकडाउन गर्ने सरकारको निर्णय

चैत्र १०, २०७६ | काठमाण्डौं

– सरकारले भोलि बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधान एवम रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले भोलिदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो ।

एक सातासम्मका लागि लकडाउन गर्ने सरकारको निर्णयसँगै अति आवश्यक सेवा बाहेक अन्य कार्यालय बन्द हुने भएको छ । सरकारले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालयका प्रमुखले बिदा दिन निर्देशन दिएको छ । 

यस्तै लकडाउन गर्ने घोषणासँगै सरकारले निजी र यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । सरकारले सवारी साधनसहित आन्तरिक व्यवसायिक उडानहरु चैत १८ गते बिहान ६ बजेसम्मका रोक लगाउने निर्णय गरेको हो । अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा नीजि यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय समितिले गरेको छ ।


प्रतिक्रिया