नाकामा रोकिएका हजार जना स्वदेश छिरे

चैत्र ११, २०७६ | काठमाडौं

सरकारले सम्बन्धित स्थानीय तहमा क्वारेन्टाईनमा बस्ने सर्तमा कैलालीको गौरीफन्टा, झापाको काँकडभिट्टा र कञ्चनपुरको गड्चौकी नाकामा अलपत्र परेका नेपालीहरुलाई स्वदेश प्रवेशको अनुमति दिएको छ । 

कोभिड १९ संक्रमणको जोखिम कम गर्न भन्दै लकडाउन कार्यान्वयनमा आएपनि स्वदेश फर्कने पर्खाईमा रहेका झण्डै एक हजार जनालाई अनुमति दिएको हो । आज बिहानैबाट लकडाउन भएपछि स्थानीय प्रशासनको अनुमथित कुर्दै आज दिनभर उनीहरु नाकामा बसेका थिए । स्वदेश फिर्तीको माग गर्दै उनीहरुले नाराबाजी समेत गरे ।

गौरीफन्टामा रोकिएका ७ सय २९ जना नेपालीलाई स्थानीय प्रशासनले क्वारेन्टाईनमा बस्ने सर्तमा नेपाल प्रवेश गराएको प्रमुख जिल्ला अधिकारी यंज्ञराज बोहराले बताउनुभयो । सीमा नाकाको दशगजा क्षेत्रमा बिहानैबाट रोकेर राखेका २९ जिल्लाका नागरिकलाई गाउँ तथा नगरपालिकाको क्वारेन्टाईनमा बस्ने सर्तमा सम्वन्धित प्रमुख जिल्ला अधिकारीको जिम्मा लगाईएको बोहोराको भनाई छ । 

उनीहरुमा स्वास्थ्य परीक्षण गर्नुका साथै व्यक्तिगत विवरण पनि संकलन गरिएको सहकर्मी मोहन बुढाऐरले जनाएका छन् । उनीहरुलाई गन्तब्यमा पुर्‍याउन बिभिन्न यतायात समितिहरुले बस उपलब्ध गराएका थिए । 

नयाँदिल्लीमा हिजो देखि अलपत्र परेका २ सय बढीलाई नेपाली दूताबासले बस चढाएर गौरीफन्टा पठाएको थियो । हिजो साँझ नै त्यहाँ पुगेका केहीले दशगजाको खुल्ला चौरमै रात बिताएका थिए । स्वदेश फिर्तिको माग गर्दै आज बिहान भने केहीबेर भने नाराबाजी समेत भएको थियो ।

काँकडभिट्टामा पारी भारतको पानीट्यांकीमा रोकिएका १ सय ७० जनालाई पनि झापा प्रशासनले स्वदेश फिर्तीको अनुमति दिएको छ । झापा, मोरङ, सुनसरी, काठमाडौं, कास्की लगायत जिल्लाका उनीहरु पाएक पर्ने स्थानमा क्वारेन्टाईनमा बस्नेछन । जिल्ला प्रशासन कार्यालयले समुह समुह बनाएर उनीहरुलाई गन्तब्यमा पठाउने काम भइरहेको सहकर्मी पर्वत पोर्तेलले जनाएका छन् । करिब एक सयको संख्यामा भारत जाने पर्खाईमा रहेकालाई पनि आजै अनुमति दिने तयारी प्रशासनको छ ।

यस्तै कञ्चनपुरको गड्डाचौकीमा अलपत्र परेका ७५ जना नेपालीलाई पनि सोही सर्तमा नेपाल प्रवेशको अनुमति दिईएको छ । आज बिहानैदेखि नाकामा रोकिएका उनीहरुमध्ये ३९ जना उपचार गरेर फर्किएका बिरामी र उनीहरुका कुरुवा थिए । नेपालबाट भारत जान खोज्ने करीब ५० जना पनि सीमा क्षेत्रमा रोकिएका थिए ।

यसैबीच, सरकारले भोलीबाट नाका प्रवेशमा पूर्ण रुपमा रोक लगाउने भएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले सीमा नाकामा जम्मा भएका नेपालीहरुलाई आज अन्तिम पटक नेपाल प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो । भोलीदेखि भने कसैलाई पनि प्रवेश नदिइन सरकारको निर्देशन छ । 

नेपाली नागरिकको प्रमाण र स्वास्थ्य परीक्षणपछि उनीहरुलाई नेपाल प्रवेश गराइने सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिनसभायो । यसरी नेपाल प्रवेश गरेका उनीहरुले १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले निर्णय गरेको छ ।


प्रतिक्रिया