थप एकजनामा कोरोना संक्रमण भेटियो

चैत्र १४, २०७६ | काठमाडौं

– काठमाडौं उपत्यका बाहिर एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा कोरोना भाइरसको चौथो संक्रमण पुष्टि भएको बताउनुभयो । संक्रमित व्यक्तिको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको उहाँको भनाई छ ।

दुबईबाट फर्किएका ती व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएको र आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको नमूना परीक्षण पोजेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । संक्रमित व्यक्ति ३४ वर्षीय पुरुष रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाको भनाई थियो । सरकारले गरेको लकडाउनको पालना गरी सबैलाई घरमै बस्न पनि उहाँले आग्रह गर्नुभयो ।

यसअघि चीनबाट फर्किएका एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै कतार एयरवेजको विमानबाट फ्रान्सबाट आएकी एकजना १९ वर्षिया युवतीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो भने कतारबाट आएका धादिङका अर्का एकजनामा पनि कोभिड १९ पुष्टि भएको थियो । 


प्रतिक्रिया