निवृत्त कर्मचारीलाई कोभिड १९ बिरुद्धको अभियानमा सहयोग गर्न सरकालको अपिल

चैत्र २८, २०७६ | काठमाडौं

सरकारले कोभिड १९ संक्रमणबिरुद्धको अभियानमा सहयोग गर्न सेवा बाहिर र निवृत्त भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आव्हान गरेको छ । 

पछिल्लो एक साता नयाँ संक्रमित नभेटिएपनि संक्रणको जोखिम अझै नटरेको निष्कर्षसहित सरकारले स्वेच्छिक रुपमा आवद्ध हुन उनीहरुलाई आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले कोरोना भाइरस विरुद्धको स्वास्थ्य सेवामा जनशक्ति ब्यवस्थापनका लागि सो आव्हान गरिएको बताउनुभयो ।

बाहिर प्रचार भएजस्तो स्वास्थ्य मन्त्रालय अन्तर्गतका चिकित्सक र स्वास्थ्यकर्मीको तलब कटौती नभएको प्रवक्ता देवकोटाको स्पष्टोक्ति थियो ।

केही स्थानमा उपचारका लागि अस्पताल भर्ना भएका बिरामीको मृत्यु भएपछि अन्य बिरामीको समेत उपचार प्रभावित भएको पाईएकाले अस्पताल र सेवा सञ्चालनका लागि आवश्यक मस्यौदा तयार भएको डा. देवकोटाले बताउनुभयो ।

मुलुकभर अहिलेसम्म ३ हजार ५ सय २४ जनामा कोभिड १९ को नमुना परिक्षण भएको छ । स्वास्थ्य परिक्षणको दायरा बढाइएपछि बिभिन्न ११ स्थानका प्रयोगशालामा मात्र पछिल्लो २४ घण्टामा ६ सय ३० जनाको परीक्षण भएको छ । हाल ८ हजार ६ सय ३० जना क्वारेन्टिनमा छन् भने १ सय २५ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरस पोजिटिभ पाइएको ८ जनाको सामान्य अवस्थामा उपचार भैरहेको छ । र्‍यापिड डाइग्नोष्टिक टेष्ट अन्तर्गत कैलालीमा ३ सय ३९, कञ्चनपुरमा १ सय ३७, कपिलवस्तुमा २१ र बागलुङमा १९ वटा परिक्षण सबै नेगेटिभ आएको छ । 


प्रतिक्रिया