उदयपुरको भुल्केका थप ८ मा कोरोना संक्रमण पुष्टि

वैशाख ९, २०७७ | मोरङ

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भुल्केको नुरी मस्जिद भएको मुस्लिम बस्तीका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

भुल्केका नुरी मस्जिदमा बस्दै आएका भारतको दिल्लीबाट मंसिर २५ गते नेपाल प्रवेश गरेकामध्ये ११ र उनीहरुसँगै बसेका विराटनगर १७ का ४ जनामध्ये २ जनामा शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टिपछि स्थानीय ६९ जनाको स्वाब संकलन गरेर कोशी अस्पतालमा पीसीसआर परीक्षणका लागि ल्याइएको थियो । 

उनीहरुमध्ये सोमबारसम्म स्वाब परीक्षण गरिएकामध्ये ८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि थप पुष्टिका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । प्रतिष्ठानमा पुन: परीक्षण गर्दा समेत आठै जनामा संक्रमण पुष्टि भएको प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । 

नेपालीका सेनाको सहयोगमा मस्जिद भएको बस्तीका २ सय ५१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका काठमाडौं लगिएको मध्ये एक जनामा संक्रमण भेटिएको छ । भुल्केमा १२ जनाबाट कोरोना संक्रमितको संख्या २२ पुगेको छ । 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि तत्काल नुरी मस्जिद र उक्त मस्जिद भएको भुल्केको मुस्लिम बस्तीमा पूर्ण रुपमा सर्वसाधारणको आवतजावतमा रोक लगाइएको बताउनुभयो । 

सम्बन्धित समाचार :

उदयपुर जिल्ला सिल गर्ने प्रदेश १ सरकारको निर्णय


प्रतिक्रिया