कर्णाली ७ दिन सिल, २७ ठाउँमा चिकित्सक सहितको टोली परिचालन गरिने

वैशाख २२, २०७७ | सुर्खेत

छिमेकी प्रदेशहरु सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशले सीमा नाका ७ दिनका लागि सिल गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले यस्तो निर्णय गरेको हो । 

सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले यो निर्णयसंगै कर्णाली प्रदेश पूर्ण रुपमा सिल भएको बताउनुभयो । उहाँका अनुसार प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने छ । 

गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिने उहाँको भनाइ छ । मन्त्री रावलका अनुसार स्वास्थ्यकर्मीको टोलीले संभावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रुत परीक्षण (आरडीट) समेत गर्नेछ । 

सरकारले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्नेछ । प्रतिष्ठानका चिकित्सक साविकको कर्णालीमा परिचालन हुनेछन् भने सुर्खेतका चिकित्सक अन्य जिल्लामा जानेछन् । 

आवश्यकताअनुसार सम्बन्धित जिल्लाका चिकित्सक पनि तोकिएका स्थानमा जाने मन्त्री रावलले बताउनुभयो । सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउनयता कर्णालीमा प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन् ।   


प्रतिक्रिया