नेपालको क्षेत्रफलमा ३९५ वर्ग किलोमिटर थप

जेष्ठ ६, २०७७ | काठमाडौं

सरकारले हिजो नेपालको राजनीतिक नक्सा अद्यावधिक गरेसंगै नेपालको क्षेत्रफल पनि परिमार्जन भएको छ । लिपुलेक, कालापानी र लिम्पियाधुरालाई पनि समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालतर्फ ३ सय ९५ वर्ग किलोमिटर क्षेत्रफल थप भएको हो ।

भूमी व्यवस्था तथा सहकारी एवं गरिबी निवारण मन्त्रालयका अनुसार लिपुलेक, कालापानीतर्फ भारतले अतिक्रमण गरेको ६० र लिम्पियाधुरातर्फ ३ सय ३५ वर्ग किलोमिटर भुभाग थपिएको हो । योसंगै नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय ७६ वर्ग किलोमिटर पुगेको छ । 

तर मन्त्रालयले सो क्षेत्रको नाप गरेपछि मात्र आधिकारीक विवरण सार्वजनिक गर्ने जनाएको छ । नापी टोली सो क्षेत्रमा पुगेपनि काम भने सुरु गर्न नसकेको मन्त्रालयले जनाएको छ । यसअघि नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेको थियो ।

नयाँ नक्सालाई सरकारी प्रयोजनसंगै पाठ्यक्रममा पनि समावेश गराईने मन्त्रालयले उल्लेख गरेको छ ।

नयाँ नक्सा कार्यान्वयनमा नेपाल भित्र कुनै पनि समस्या नरहेपनि अन्तर्राष्ट्रियस्तरमा यसलाई स्थापित गराउन राजनीतिक, कुटनीतिक र रणनीतिक पहल आवश्यक रहेको संविधानविद डा.रुद्र शर्माको भनाई छ । द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय छलफलका लागि सरकारले तत्काल पहल गर्न आवश्यक रहेको बताउँदै उहाँले सीमा विवाद देखिएपनि सो छलफलले समाधानका लागि बलियो आधार बनाउने तर्क गर्नुभयो । 

रेडियो कान्तिपुरसँग बिहान कुरा गर्दै डा. शर्माले नेपालसँग पर्याप्त प्रमाण रहेकाले अन्तर्राष्ट्रिय कानुनको नजरबाट पनि नेपाल बलियो स्थितिमा रहेको बताउनुभयो । 


प्रतिक्रिया