वार्तामा नबस्न भारतको अर्को बहाना, 'समुन्द्री आँधी अम्फान'

जेष्ठ ९, २०७७ | नयाँदिल्ली

सरकारले लिम्पियाधुरासहितको नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेपनि भारतले नेपालसँग वार्ताका लागि अग्रसरता देखाएको छैन । कोभिड १९ को संक्रमणलाई देखाउँदै वार्ताबाट पन्छिदै आएको भारतले फेरि चक्रवातलाई कारण बनाएर वार्ता आलटाल गर्न थालेको छ । 

भारतको बिदेश मन्त्रालयले नेपालले नक्सा जारी गरेकै दिन अस्ति बुधबार नयाँदिल्लीमा सञ्चारकर्मीसँग नेपालले जारी गरेको नक्सा मान्य नहुने बताएको थियो । लामो समयदेखि अल्झिएको समस्या समाधानका लागि नेपाल सरकारले बारम्बार पहल गरेपनि वार्ताका लागि भारत तयार देखिएको छैन । 

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले वार्ताका लागि दूतावासमार्फत बारम्बार तागेदा भएपनि ठोस जवाफ नआएको बताउनुभयो । रेडियो कान्तिपुरसँग संक्षिप्त प्रतिक्रिया दिदै उहाँले भन्नुभयो, 'वार्ताका लागि अर्को वार्ता गर्न आवश्यक छ । भारतका सरकारी अधिकारीसँग बारम्बार कुरा भएपनि ठोस जवाफ आएको छैन ।'

भारतले अतिक्रमण गरेको भूमिलाई समेत समेटेर पछिल्लो समय सरकारले लिम्पियाधुरासम्मको नक्सा सार्वजनिक गरेपछि भने भारतीय सञ्चारमाध्यमदेखि भारतका बिभिन्न नेता, सरकारी अधिकारीसम्मले नेपालको सो कदमलाई चीनको इशारामा भएको कार्यको संज्ञा दिदै थप विवादित बनाएको टिप्पणी हुन थालेको छ । 

यद्यपि भारतीय कुटनीतिज्ञले भने नेपालसँगको समस्या समाधानका लागि वार्ताको बिकल्प नभएको बताउँदै भारत सरकारलाई तत्काल पहल गर्न सुझाएका छन् । 


प्रतिक्रिया