नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो

जेष्ठ ११, २०७७ | काठमाडौं

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण देखिएको हो । 

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका १, बाराका १, पर्साका ३, रौटहटका १, सर्लाहीका १, रुपन्देहीका ३ र काठमाडौंका १ जना रहेको बताउनुभयो । 

त्यसैगरी नुवाकोटका १, रुपन्देहीका ३, कपिलवस्तुका ३ र गुल्मीका १ जनामा संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमण ४२ जिल्लामा फैलिसकेको छ । जसमा आइतबार पहिलोपटक नुवाकोटमा संक्रमण देखिएको छ ।

संक्रमित मध्ये ५ सय २४ जना पुरुष र ७९ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ सय ८ र आरडीटी विधिबाट ३ हजार ७ सय ९१ जनाको नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हालसम्म आरडीटी विधिबाट ९० हजार २६ नमूना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ४८ हजार ८ सय १५ परीक्षणहरु गरिएका छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक, बाँकेमा एक र गुल्मीमा एक गरी ३ जनाको मृत्यु भएको छ ।

यस्तै, गर्मीको समय भएकाले लामखुट्टेको टोकाईबाट मलेरिया र डेंगी रोगको प्रकोप देखिने भएकाले सर्तकता अपनाउन प्रवक्ता डा. देवकोटाले आग्रह गर्नुभयो । आफू बस्ने स्थान वरपर सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो । 

कोरोनाको उपचार अहिलेसम्म पत्ता नलागेको भन्दै उहाँले होमियोप्याथिक र आयुर्वेदिक औषधिको सेवनबाट कोरोनाको संक्रमण निको हुनेमा कुनै सत्यता नभएको उहाँले बताउनुभयो । यसलाई कोरोनाको उपचारसँग नजोड्न आग्रह गर्नुभयो ।


प्रतिक्रिया