एकैदिन प्रदेश २ मा ५४ जना संक्रमित थपिए

जेष्ठ १२, २०७७ | जनकपुर

प्रदेश सरकारले सञ्चालनमा ल्याएको धनुषाको गंगुलीस्थित प्रादेशिक क्वारेन्टाइनको सुरक्षामा खटिएका दुई प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको छ । यो समेत प्रादेशिक क्वारेन्टाइनमै संक्रमितको संख्या ८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाव परिक्षणमा सोमबार विहान गंगुली क्वारेन्टाइनका तीनजनाको संक्रमण पुष्टि भएको छ । जसमध्ये दुईजना प्रहरी हुन् । सोमबार विहान मात्र कुल संक्रमित ७२ जनामा प्रदेश २ का ५४ जना छन् । धनुषामा ३, रौतहटमा २६, सप्तरीमा २ र वारामा २३ जना संक्रमित थपिएका छन् ।

धनुषाको इलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत र क्वारेन्टाइनको सुरक्षामा खटिएका दुईजना प्रहरीमा कोरोना भाइरस पोजेटिभ देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । उनले संक्रमित एकजना ४५ वर्षीय असई र ३१ वर्षीय प्रहरी जवान रहेको बताए । संक्रमित दुबै सुरक्षाकर्मी गंगुली क्वारेन्टाइनमा करिब दुइ महिनादेखि सुरक्षार्थ खटिएका थिए । यस्तै, धनुषाका अर्का ३० वर्षिय संक्रमित पुरुष गंगुली क्वारेन्टाइनमा बसिरहेका व्यक्ति हुन् ।

भारतको नयाँदिल्लीस्थित एक छापाखानामा काम गर्ने ती ३० वर्षिय पुरुष जेठ ६ गते घर फर्केपछि उनलाई प्रादेशिक क्वारेन्टाइनमा राखिएको थियो । जेठ ७ गते उनको स्वाब संकलन गरी परिक्षणका लागि टेकु पठाइएको थियो । संक्रमण पुष्टि भएका तीनैजनामा कुनै लक्षण नदेखिएको क्वारेन्टाइन्का संयोजक सन्तोष ठाकुरले बताए ।

प्रादेशिक क्वारेन्टाइन गंगुलीमा लगालग ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टाइन सिल गरेर बाँकीको स्वाब संकलन गरिएको थियो । प्रादेशिक क्वारेन्टाइनमा मात्र ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइन सिल गरेर सोमबार त्यहाँ बसिरहेका ८१ जनाको स्वाब संकलन थालिएको क्वारेन्टाइन संयोजक ठाकुरले बताए । 


प्रतिक्रिया