प्रदेश २ सरकारद्वारा परीक्षण, राहत र रोजगारका लागि विशेष प्याकेज माग

जेष्ठ १५, २०७७ | जनकपुर

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बैदेशिक रोजगारमा रहेका प्रदेशभरिका १० लाख युवा कोरोना भाइरसको महामारीपछि घर फर्किने भएकाले उनीहरुको व्यवस्थापनका लागि संघीय सरकारसित विशेष आर्थिक प्याकेजको माग गर्नुभएको छ । 

प्रदेश युवा रोजगार कार्यक्रम र कृषिमा विशेष उत्पादन अभियानका लागि आर्थिक प्याकेज उपलब्ध गराउन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्यमन्त्री राउतले पत्र लेख्नुभएको हो । पत्रमा ‘प्रदेशका जनताको जिविकोपार्जनको माध्यम कृषि र कृषि भूमिको उपलब्धता हेरेर युवा रोजगार कार्यक्रम र उत्पादन अभियानका लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउन आग्रह गरिएको छ ।

पत्रमा भनिएको छ, ‘लकडाउनको अवधी थपिदै जाँदा भौगोलिक अवस्था, जनसंख्यीक बनोट, मानव विकास सुचकांक र समाजिक विकासको अवस्थासमेतका आधारमा प्रदेश सरकारले मात्रै खाद्यान्नसहितको राहत उपलब्ध गराउन चुनौतिपूर्ण रहेकाले संघीय सरकारबाट ठोस कार्यक्रम ल्याउन अनुरोध छ ।’

भिटिएम लगायतका स्वास्थ्य समाग्रीको नियमित आपूर्ति नहुँदा कोरोना भाइरसको परिक्षण अपेक्षित गर्न नसकिएको पत्रमा उल्लेख छ । परीक्षणको संख्या बढाएर क्वारेन्टाइनमा रहेका नागरिकको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेकाले संघीय सरकारसंग दक्ष जनशक्ति र भिटिएम लगायतका उपकरण तथा स्वास्थ्य समाग्री तत्काल उपलब्ध गराइदिन मुख्यमन्त्री राउतको आग्रह छ । 

प्रधानमन्त्री ओलीलाई कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले गरेको कामबारे समेत अवगत गराइएको छ । प्रदेशका ८ वटै जिल्ला भारततर्फको खुल्ला सीमासंग जोडिएकाले भारतमा रोजगारीमा रहेका नेपालीलाई व्यवस्थित रुपमा फर्काउने वातावरण बनाउन समेत आग्र गरिएको छ । 


प्रतिक्रिया