समाजवादी पार्टीले संसोधन प्रस्तावलाई समर्थन गर्ने

जेष्ठ १८, २०७७ | काठमाडौं

समाजवादी पार्टीले संविधान संसोधन विकेयकलाई समर्थन गर्ने भएको छ । आफ्ना एजेण्डामा यसअघि सरकारसँग भएका सहमतिलाई स्मरण गराउँदै समाजवादीले संसोधनको पक्षमा मतदान गर्ने स्पष्ट पारेको हो । 

रेडियो कान्तिपुरसँग कुराकानी गर्दै पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय एजेण्डामा सबै दलहरु एक भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । राष्ट्रियताको सवालमा दाउपेचको राजनीति गर्नु हुन्न भन्ने मान्यतामा समाजवादी स्पष्ट रहेको उहाँको भनाई थियो । 

सरकारले आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेको अवस्थाले भारतलाई वार्ताको टेबलमा बस्न दबाव बढेको भन्दै उहाँले त्यसमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो ।

संसदमा विधेयक टेबल हुनासाथ बैठक बसी आफ्नो पार्टीले संसोधनको पक्षमा औपचारिक निर्णय गर्ने श्रेष्ठको भनाई थियो । आफुहरुले उठाएका विगतका मुद्धामा सरकार उदासीन भएको बताउदै यसअघि भएका सहमती कार्यान्वयनको बिषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रस्तावको समर्थनमा उभिने उहाँको भनाई छ ।

प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ जना सांसद छन् । संशोधन प्रस्तावमा समाजवादीले समर्थन गर्ने बताएपनि सोही दलसँग एकीकरणको प्रक्रियामा रहेको राष्ट्रिय जनता पार्टी राजपा भने अझै अनिर्णित छ ।  


प्रतिक्रिया