कोरोनाबाट नेपालमा ८ जनाको मृत्यु, संक्रमित १ हजार ५ सय ७६ पुगे

जेष्ठ १८, २०७७ | काठमाडौं

नेपालमा कोरोना सक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । दैलेख र बाजुरामा थप २ जनाको मृत्यु भएसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक बाजुरामा २ बर्षिया बालिकाको सक्रमणका कारण मृत्यु भएको हो । यसअघि हिजो दैलेखको दुल्लुमा कोरोना सक्रमणकै कारण एक जनाको मृत्यु भएको थियो । डडेलधुराको क्वारेन्टाइनमा ६ वर्षिय बालकको मृत्यु भएपनि उनमा कोरोना भए नभएको पुष्टि हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताउनुभयो ।

मुलुकभर एकै दिन आज थप १ सय ७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसंगै मुलुकभर संक्रमितको संख्या १ हजार ५ सय ७६ पुगेको छ । आज ४ महिनाको बच्चादेखि ५२ बर्ष उमेरसम्मका व्यक्तिमा कोरोना देखिएको मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा थप ३ जिल्लामा नयाँ सक्रमण देखिएको डा देवकोटाले जानकारी गराउनुभयो । यो संगै ५७ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो समय तनहुँ, कालिकोट र सल्यानमा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक दाङमा ९ जनाको मृत्यु भएसंगै एकै दिन सक्रमितको संख्या १ सय ७५ पुगेको हो । दाङमा क्वारेण्टाइनमा खटिएका दुई जना स्वास्थ्यकर्मीसहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जनाएको छ ।

प्रदेशगत रुपमा सबैभन्दा बढी प्रदेश २ मा ६ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश दुईका सबै जिल्लामा संक्रमण देखिएको छ । प्रदेश ५ मा ५ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । सो प्रदेशका ९ जिल्लामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताउनुभयो । 

प्रदेश एकका ९ जिल्लामा १ सय ६५, कर्णाली प्रदेशका ५ जिल्लामा १ सय २३ र वागमती प्रदेशको १२ जिल्लामा ४५ जनामा संक्रमण देखिएको छ । सुदुरपश्चिमका ८ जिल्लामा २७ र सबैभन्दा कम गण्डकी प्रदेशका ६ जिल्लामा २३ जिल्लामा संक्रमण फेला परेको हो । 

हालसम्म २ सय २० जना संक्रमणमुक्त भई घर फर्किएका छन् । 


प्रतिक्रिया