दुई बालबालिका सहित थप १३ मा कोरोना संक्रमण पुष्टि

जेष्ठ १९, २०७७ | काठमाडौं

दुई बालबालिका सहित थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सोमबार एकैदिन नेपालमा २ सय ३९ जना संक्रमित थपिएएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा आज गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्ति मार्फत सोमबार साँझ थप १३ जना संक्रमित थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित हुनेमा नवलपरासीको सरावल गाउँपालिकाका ६ वर्षीय बालक, रुपन्देहीको गैडहवा गाउँपालिकाका ३ वर्षीया बालिका पनि छन् । 

यस्तै, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ पुरुष, पाल्पाको निस्दी गाउँपालिकाका २ पुरुष र गुल्मीको रेसुंगा नगरपालिकाका एक जना पुरुष रहेका छन् । 

यसअघि दैलेखका ४१, कपिलवस्तुका ४०, सर्लाहीका ३८, जुम्लाका १९, रौटहतका १८, कैलालीका १४, सल्यानका १०, दाङका ९, बाँकेका ७, धनुषाका ७, सुर्खेतका ५, सिरहाका ५, नवलपरासी पूर्वका ३, पाल्पाका ३, रुपन्देहीका २, झापाका २, महोत्तरीका २, मकवानपुर, उदयपुर, अछाम, बैतडी, डोटी र कञ्चनपुरका १–१ जनामा पनि संक्रमण पुष्टी भएको हो । 

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९ सय ७५ छ । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना छ । मन्त्रालयका अनुुसार आजसम्म नेपालमा पीसीआर विधिबाट ७१ हजार ९ सय ३ परीक्षण गरिएको छ । हालसम्म कोरोना संक्रमणले ८ जनाको ज्यान गइसकेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ जना पुगेको छ ।  


प्रतिक्रिया