रुकुम घटनाका नाबालक दुई जना आरोपीलाई पुर्पक्षका लागी बाल सुधार गृहमा राख्न आदेश

 तस्बिर : महेश केसी, रेडियो कान्तिपुर ।

असार १, २०७७ | रुकुम पश्चिम

रुकुम पश्चिममा गत जेठ १० गते ६ जनाको ज्यान जानेगरी भएको घटनामा संलग्न भएका ३४ जना आरोपीमध्ये नावालक भनिएका २ जनालाई जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधिश विद्याराज पौडेलको थुनछेक आदेश अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा पुर्पक्षका लागी बाल सुधार गृहमा राख्ने भएको छ । रुकुम जिल्ला अदालत रुकुम पश्चिमले आज यस्तो आदेश गरेको हो ।

बालबालिका सम्बन्धी ऐन २०७५ मा कुनैपनि बालबाललिकालाई मुद्धाको पुर्पक्षको शिलशिलामा थुनामा राखिने छैन र निजसंग धौरौटी वा जमानत मागिने छैन भन्ने व्यवस्था अनुसार यो आदेश गरिएको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको सहयोगमा नजिकै रहेको बाल सुधार गृहमा राख्ने व्यवस्था मिलाउने रुकुम जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहोराले बताए ।

रुकुम घटनामा संलग्न भएको आरोपामा पिडितको जाहेरी भित्रका २० जना र प्रहरी अनुसन्धानबाट थप खुलेको ९ जना गरी २९ जना तथा फरार ५ जना गरी जम्मा ३४ जना विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले आईतबार दायर गरेको अभियोग उपर रुकुम जिल्ला अदालतले सोमबारदेखी कारवाही प्रक्रिया अघि बढाएको छ ।

आरोपी ३३ जनालाई कर्तव्यज्यान, ज्यान मार्ने उद्योग, जातिय भेदभाव र छुवाछुत कसुरको अभियोग लगाईको छ भने, बाकी एक जनालाई मतियारको अभियोग लागाईएको छ । आरोपी ३३ जनामाध्ये पछिल्लो आदेश भएका दुई जना नाबालक हुन् । 


प्रतिक्रिया