‘समयमै वार्ता नगर्नु भारतको ठूलो कुटनीतिक कमजोरी’ : भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंह

असार १, २०७७ | नयाँदिल्ली

नेपाल–भारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले नेपाल र भारतबीच तनावपूर्ण परिस्थिति बन्नुमा भारतको ठूलो कुटतीतिक कमजोरी भएको बताएका छन् । सिंहले सिमा विवाद पुरानो भए पनि गत नोभेम्बरमै नेपालले यो मुद्दा उठाउँदा भारतले गम्भीरतापूर्वक नलिएको समेत आश्चर्यप्रकट गरेका छन् । 

‘हामीले अहिलेको जस्तो परिस्थिति बिग्रन दिनहुन्नथ्यो । नेपालले गत नोभेम्बरमा यो विषय उठाउँदा गम्भीरता पूर्वक नलिएको देख्दा आश्चर्य लागेको छ, हामीहरुले तत्कालै विदेश सचिव स्तरीय वार्ताका पहल गर्नुपथ्र्यो र आवश्यक परेको खण्डमा परराष्ट्र मन्त्री र प्रधानमन्त्री तहमा पनि सम्वाद हुनुपथ्र्यो’ सिंहले सोमबार एक विज्ञप्ती जारी गर्दै भनेका छन् । सिंहले त्यसलाई भारतका तर्फबाट भएको गम्भीर कुटनीति कमजोरी बनाउँदै जसको परिणामस्वरुप अहिलेको अहिलेको परिस्थिति सिर्जना भएको उल्लेख गरेका छन् ।

गत नोभेम्बरमा भारतले कालापानी क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्शा सार्वजनिक गरेपछि नेपालले औपचारिक रुपमै विरोध जनाएको थियो । साथै दुई पटकसम्म वार्ताका लागि आग्रह पनि गरेको थियो । तर, भारतले नेपालको उक्त आग्रहलाई पुरै बेवास्ता गऱ्यो । यसैबीच २६ वैशाखमा भारतले लिपुलेकमा एकपक्षीय ढंगले बनाइएको सडकको उद्घाटन गरेछि परिस्थिति थप जटिल बन्न पुग्यो । त्यसपछि नेपालले सन् १८१६ को सुगौली सन्धीको आधारमा नयाँ राजनीतिक नक्शा छाप्ने र सोही अनुसार संविधान संशोधन प्रक्रिया अगाडि बढायो । गत शनिवार नेपालको संसदले संविधान संशोधन गर्ने निर्णय पनि गरिसकेको छ ।

वार्ताका लागि पहल नगरेकोमा भारतको आलोचना गरेका सिंहले मुलुकलाई भारतसँगको दिर्घकालीन द्धन्द्धको अवस्थाको पुऱ्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि असन्तुष्टि समेत व्यक्त गरेका छन् । ‘दशकौं पुरानो व्यक्तिगत र राजनीतिक नाताका भएका हिसाबले पनि प्रधानमन्त्री ओलीले दुई मुलुकबीच गहिरो सामाजिक, सांस्कृतिक, परम्परागत र आर्थिक र राजनीतिक सम्बन्धका बाबजुद नेपाललाई सच्याउन नमिल्ने गरी सँधैका लागि भारतसँगको द्धन्द्धको अवस्थामा पुऱ्याएका छन जसका लागि मलाई निकै दुख लागेको छु’ सिंहले भनेका छन् । 

साथै उनले पछिल्लो कदमले भारतलाई असर पर्छ वा पर्दैन भन्ने यकिन नभए पनि आफूलाई सुन्दर देश नेपालका नागरिकहरुलाई प्रतिकूल हुने गरी नेपाललाइ असर पर्ने हो भन्नेमा आफू चिन्तित भएको समेत उल्लेख गरेका छ्न ।

भारतका वरिष्ठ राजनीतिज्ञ सिंह नेपाल मामिलाका जानकार मात्र होइनन्, उनको नेपालसँग पारिवारिक सम्बन्ध पनि छ । सिंहकी पत्नी राणा प्रधानमन्त्री मोहन शमशेरकी नातिनी योशो राज्यलक्ष्मीसँग हुन् । विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता सिंह २०६२/६३ को जनआन्दोलन उत्कृर्षमा पुगेका बेला नेपालका राजनीतिक दल र तत्कालिन राजा ज्ञानेन्द्र शाहबीच मध्यस्थता गर्नका लागि भारतका तर्फबाट विशेष दूतका रुपमा काठमाडौं गएका थिए । सिंह जम्मुकश्मिरका अन्तिम राजा हरि सिंहका छोरा समेत हुन् । 


प्रतिक्रिया