कोरोना भाइरस नियन्त्रणको नाममा अनियमितता

असार ७, २०७७ | विराटनगर

मोरङमा कोरोना भाइरसको महामारी नियन्त्रण, रोकथाम र उपचारका लागि १७ वटै स्थानीय तह र प्रदेश सरकारले खर्च गरिरहेका छन् । त्यसका लागि भइरहेको खर्चको पारदर्शिता र मितव्ययिताको विषयमा प्रश्न उठ्न थालेको छ । 

विराटनगर महानगरपालिकाले जेठ मसान्तसम्ममा क्वारेन्टाइनमा बस्नेहरुलाई मात्रै ९ लाख ८७ हजार २ सय ९७ रुपैयाँको खाना खुवाएको खर्च सार्बजनिक गरेको छ । महानगरको क्वारेन्टाइनमा ३ सय २७ जना बसेकोमध्ये हाल १ सय ७७ जना बसिरहेको र अन्य घर फर्किसकेको छ । 

महानगरले चैतदेखि जेठ मसान्तसम्मको तीन महिनामा महामारी नियन्त्रण, रोकथाम, राहत बितरणलगायतमा संघ संस्थाले उपलब्ध गराएको सहयोग बाहेक ३ करोड १५ लाख ९२ हजार १ सय ९४ रुपैयाँ खर्चेको छ ।

सुनबर्षी नगरपालिकाले जेठ मसान्तसम्ममा महामारी नियन्त्रणका लागि १ करोड ३ लाख ९३ हजार ५ सय ४७ रुपैयाँ खर्च गरेको छ । यस्तै, रतुवामाई नगरपालिकाले पनि कोरोना भाइरस महामारी नियन्त्रणमा हालसम्ममा ७६ लाख ६९ हजार ७ सय ४६ रुपैयाँ खर्च गरेको छ । 

लेटाङ नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा जेठ मसान्तसम्ममा करिब ४ लाख खर्च गरेको छ । जिल्लास्थित १७ वटै स्थानीय तहले कोरोना भाइरसको शंकास्पद संक्रमितलाई राख्नका लागि ७७ वटा क्वारेन्टाइन स्थापना गरेको छ । जसमा हालसम्ममा ३ हजार १ सय ७ जना बसेकामध्ये १ हजार ८ सय ३८ जना घर फर्किसकेका छन् भने १ हजार २ सय ६९ जना हाल बसिरहेका हुन् ।  


प्रतिक्रिया