सोती घटनाका २३ अभियुक्त पुर्पक्षका लागि कारागार चलान

असार १०, २०७७ | रुकुम पश्चिम

सोती घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका २३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतका जिल्ला न्यायाधिश विद्याराज पौडेलको एकल इजलासले चौरजहारी नगरपालिका–८, का अध्यक्ष डम्मरबहादुर मल्ल सहित २३ जनालाई पुर्पक्षका कारागार पठाउने आदेश गरेको श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । 

 सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्य २३ जना कारागार चलान भए भने २ नाबालकलाई यस अघिकै आदेशले बाल सुधार गृहमा पठाइ सकिएको छ । १ जनालाई एक लाख धरौटीमा छाडिएको छ भने ३ जना तारेखमा छुटेका छन् । कारागार चलान भएकाहरुमा वडाध्यक्ष मल्ल सहित डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४ ३६ (१) र (३) तिलक चन्द,हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल,रेशमबहादुर मल्ल, विष्णु मल्ल कारागार चलान भएको श्रेष्तेदार बोहराले बताउनुभयो ।

 इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नविन कुमार घर्ती मगर, विराज पुन मगर, भिमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (२) एक लाख धरौटीमा छोड्न आदेश भएको श्रेष्तेदार बोहराले बताए । तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दिपेन्द्र चन्द तारेखमा छुटेका छन् ।

गत आइतबार सोती घटनामा संलग्न भएको भन्दै सरकारी वकीलको कार्यालयले ३४ जना विरुद्ध अभियोग दर्ता गरेको थियो । गत सोमबार २ नाबालकको बयान पछि बहस गरेर उसैदिन दुवैजनालाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउने आदेश समेत भएको थियो । त्यसम्ध्य बालिकालाई भक्तपुर पठाइएको छ भने बालकलाई नेपालगञ्जको बाल सुधार गृहमा पठाइएको छ । वादीको तर्फबाट ५ जना सरकारी वकीलले, जाहेरवालाको तर्फबाट २० जना र प्रतिवादीका तर्फबाट ७ गरी ३२ जना वकीलले बहस गरेका थिए ।

गत जेठ १० गते चौरजहारी नगरपालिका–८, सोतीमा जाजरकोटतर्फबाट आएका युवामाथी सोतीकै गाउँलेले आक्रमण गरेका थिए । सो क्रममा ६ जना युवाको ज्यान गएको थियो । जाजरकोट भेरी नगरपालिकाका ५ र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका १ जनाको मृत्यु भएको छ । 

जाजरकोटको नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार, सन्जिव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो । नवराजको सोती कि १७ वर्षीया मल्ल थरकी किशोरीसित प्रेम सम्बन्ध रहेको र विहेका लागि लैजान आएका बेला जात नमिल्ने भन्दै गाउँलेद्धारा युवाहरुको हत्या गरिएको थियो । 

पीडित परिवारले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्ल सहित २० जना विरुद्ध किटानी जाहेरी दिएका थिए भने ९ जनालाई प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेको थियो । अरु ५ जनाको संलग्नता भने पछि खुलेपछि उनीहरु पक्राउ परेका छैनन् । फरार प्रतिवादीलाई पक्राउका लागि अदालतबाट पक्राउ पुर्जि जारी भएको छ । 

चौरजहारी नगरपालिका–८, कै तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा यस घटनाका फरार प्रतिवादी हुन् । 


प्रतिक्रिया