बाढी र डुबान समस्या सम्बन्धमा नेपालसँग समन्वय भइरहेको छ : भारत

असार ११, २०७७ | नयाँ दिल्ली

भारतले बाढी र डुबान समस्या सम्बन्धमा नेपालसँग समन्वय भइरहेको बताएको छ । भारतको विदेश मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले बाढी र डुबान समस्या सम्बन्धमा नेपालसँग समन्वय भइरहेको बताउनु भएको हो ।

 नेपालका नदीहरुमा आउने बाढीका कारण बिहार लगायत सिमावर्ती राज्यहरुमा हुने डुबानका विषयमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता श्रीवास्तवले बाढी र डुबान समस्या सम्बोन्धनका लागि दुई देशबीच रहेको सयन्त्रले काम गरिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘भारत र नेपालबीच बाढी नियन्त्रणको कामका लागि द्धिपक्षीय सयन्त्र छ । र, सीमामा रहेका नदीहरुमा बाढी नियन्त्रण र भूक्षय रोक्ने काम सुरु भइसकेको छ ।’ साथै यो वर्षको मनसुनमा हुन सक्ने क्षति कम गर्न दुबै पक्षबीच समन्वय भइरहेको समेत उहाँको जानकारी दिनुभयो ।

प्रत्येक वर्ष नेपाल र भारतको सिमावार्ती क्षेत्रमा बर्खाका बेला नदी र खोलाको सतह बढ्दा बाढी र डुबान समस्या हुने गरेको छ । जसका कारण ठूलो मात्रामा अन्न बाली र जनधनको क्षति हुने गरेको छ । 

सीमाका दुई दर्जन भन्दा बढी ठाउँमा भारतले एकतर्फी रुपमा निर्माण गरेका तटबन्धका कारण पनि नेपाली भूभागलाई डुबाउन पर्दै आएको छ । त्यसले ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । यस विषयलाई नेपालले उच्च राजनीतिक तहमा उठाउँदै आएपनि भारतले त्यति वास्ता नगर्ने गरेको नेपाली अधिकारीहरुको गुनासो छ ।

अझ भारतीय पक्षले उल्टो नेपालका कारण भारतीय क्षेत्रमा डुबान हुँदै आएको आरोप लगाउने गरेको छ । केही दिन अघि बिहारका जलसंशाधन मन्त्री सन्जय झाले नारायणी (गण्डक) नदीमा बनेको बाँधको सफाई र मर्मतको काममा नेपालले अवरोध गरेका आरोप लगाएका थिए । 

यसले बिहारमा बाढी र डुबानको जोखिम बढाएको समेत जनाएका थिए । तर, नेपालले भने मन्त्री झाको आरोपको खण्डन गर्दै कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि सीमा बन्द गरिएको र संक्रमणको जोखिम कम गर्न बाँधको मर्मत एवं सफाईका लागि आउने प्राविधिकहरुको सूची पठाएको खण्डमा अनुमति दिइने जनाएको थियो । 

त्यही प्रक्रिया पूरा गर्नका लागि समय लागेको हुँदा बाँधको काम रोकेको भन्ने मन्त्रीको आरोप सत्य नभएको जनाएको थियो । 


प्रतिक्रिया