ओली र दाहालबीच निर्णायक वार्ता सुरु

 फाइल तस्बिर

असार २१, २०७७ | काठमाडौं

पार्टीभित्र शक्ति संघर्ष र अन्तरविरोध चर्किरहेका बेला सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निर्णायक वार्ता सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा सामुहिक भेट गरेर वालुवाटार छिरेका दाहालले प्रधानमन्त्री ओलीसँग सहमतिका लागि अन्तिम छलफल गरेका हुन् । 

दाहाल पक्षबाट वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहभागी हुनुहुन्छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भने महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेललाई सहभागी गराउन्ुभएको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने र आफुलाई पदबाट हटाउने प्रपञ्चमा नेताहरु लागेको आरोपका बीच सुरु भएको दुई अध्यक्षबीचको छलफलबाट सहमतिको सम्भावना भने कम रहेको नेताहरुको बिष्लेषण छ ।

यसअघि अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो ।

सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै राजीनामा मागेका अध्यक्ष दाहालसँगको छलफलमा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान लिदै आउनुभएको छ । वरिष्ट नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितका अधिकांश सचिवालय सदस्य दाहालको पक्षमा देखिएपछि अल्पमतमा परेको प्रधानमन्त्री ओलीले पार्टीमा आफु निकटका नेता सहित कांग्रेस सभापति शेरबहादुर देउवासँग बारम्बार छलफल गर्नुभएको छ । 


प्रतिक्रिया