बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

 तस्बिर : शिव पुरी, रौतहट ।

असार २६, २०७७ | रौतहट

लगातारको बर्षापछिको बाढीले पूर्वपश्चिम राजमार्गको रौतहट खण्ड अवरुद्ध भएको छ । चन्द्रपुर–२ स्थित पूर्वपश्चिम राजमार्गको लच्का खण्डमा बाढी आएपछि आज बिहानै देखि यातायात अवरुद्ध भएको हो । 

ईलाका प्रहरी चन्द्रपुर जिल्ला ट्राफिक र सशस्त्र प्रहरीले ठुला गाडीलाई पालैपालो गरि पास गराउन थालेको छ । साना सवारी भने जान सक्ने अवस्था छैन् । त्यस क्षेत्रमा गाडीको लाईन लागेको छ । लच्कामा बाढीका कारण झण्डै ३ सयको हाराहारीमा मालबाहक ट्रक, साना जिप, कार, मोटरसाईकल र एम्बुलेन्स रोकिएका छन् । 

केही मानिसहरु काधमा साईकल बोकेर जोखिमपूर्ण रुपमा वारपार गरिरहेका छन् । मोटरसाईकल पनि गुडाएर वारपार गराएका छन् । लगातारको बर्षा पछि जिल्लाको दक्षिणभेगमा पनि हल्का पानी जम्न थालेको छ । पानीले निकाश नपाउदा उत्तरी भेगका केही गाउँ डुबानमा पर्ने देखिएको छ ।

गत वर्ष असार र साउनमा लगातारको बर्षा पछि जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा परेको थियो । डुबान र बाढीले बगाएर १५ जनाको ज्यान गएको थियो । मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन नदीहरुमा बहाव बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान गरिए पछि जिल्लामा त्रास बढेको छ । 


प्रतिक्रिया