सत्तारुढ नेकपामा गतिरोध कायमै, स्थायी कमिटी साउन २ सम्म स्थगित

असार २६, २०७७ | काठमाडौं

दुई अध्यक्षबीचको वार्ता टुंगोमा पुग्न नसक्दा सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक नै प्रभावित भएको छ । पछिल्लो समय बारम्बार स्थगित हुँदै आएको बैठक फेरि साउन २ गते सम्मका लागि सारिएको छ । 

सरकारको विषय, पार्टी सञ्चालन तथा नेतृत्व व्यवस्थापन सम्वन्धमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल लम्विएपछि आज बस्ने भनिएको बैठक एक साताका लागि स्थगित भएको हो । यो बीचमा सरकार र पार्टी सञ्चालनका विषयमा देखिएका असमझदारी अन्त्य गर्ने विषयमा दुई अध्यक्षवीचमा निरन्तर छलफल हुने प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं किमिटी सदस्य विष्णु रिमालले जानकारी दिनुभयो ।

यद्यपि दुई अध्यक्षवीचमा पार्टी एकीकरण अघि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति एवं गत मंसिरमा दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने विषयलाई कार्यन्वयन गर्ने बिषयमा सहमति हुन सकेको छैन । 

दाहालले आलोपालो सरकार चलाउने पुरानो सहमति कार्यन्वयन गर्नुपर्ने अडान राख्नुभएको छ भने ओलीले दाहाललाई कार्यकारी अध्यक्षको पद व्यवहारिक रुपमै कार्यन्वयन गर्ने बताउनुभएको छ । सो विषयमा दुई अध्यक्ष आफ्नै अडानमा रहेपछि निकास निस्कन नसकेको नेता युवराज ज्ञवालीले बताउनुभयो ।

गत १० गतेदेखि शुरु बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागेपछि राष्ट्रिय राजनीतिका अन्य थुप्रै मुद्धा ओझेलमा परेका छन् । सरकारको नियमित काम कारवाहीको समीक्षा, भारतसंगको सीमा विवाद, एमसीसी लगायतका विषयमा स्थायी कमिटि बैठकमा छलफल गर्ने भनिएपनि प्रधानमन्त्रीको राजिनामामा केन्द्रीत भएपछि बैठक पटक पटक स्थगित हुदै आएको छ ।

यसैबीच अध्यक्षद्धय ओली र दाहालवीच बालुवाटारमा आज पनि छलफलको तयारी भएको छ । 


प्रतिक्रिया