चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तलको पुनर्निर्माण सुरु

विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर परिसरको सत्तल पुनर्निर्माणका लागि चुनासुर्की घोल्दै कामदार । तस्बिर: लीला श्रेष्ठ/कान्तिपुर ।  

असार २७, २०७७ | भक्तपुर

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा न्यूनिकरणका लागि भन्दै सुरु भएको लकडाउनसँगै रोकिएका सम्पदा पुनर्निर्माणको कार्यले गति लिएको छ । 

स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डा (पुरातत्व विभाग) भक्तपुरका अनुसार लकडाउनका कारण झण्डै तीन महिना रोकिएको पुनर्निर्माणको कार्य थालनी भएको छ । २०७२ बैशाखको भूकम्पले क्षतिग्रस्त विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तल पुनर्निर्माणले गति लिएको हो ।

पुरातत्व विभागका पुरातत्व अधिकृत मोहन सिंह लामाका अनुसार चौघेरा सत्तल पुनर्निर्माणका लागि २०७५ माघ २ मा लुम्बिनी/सानु सुवाल/पवन जेभीसँग सम्झौता भई जग खन्ने बाहेक काम हुन सकेको थिएन् । लकडाउन खुकुलो भएसँगै मन्दिरको दक्षिण तर्फको सत्तल निर्माण तुलनात्मक रुपमै अघि बढेको उहाँले बताउनुभयो ।

बहुवार्षिक योजना अन्तर्गत सुरु भएको सत्तल निर्माणका लागि पुरातत्व विभागले सुरुमा २४ करोड रुपैयाँ लागत अनुमान निकालेको थियो । बोलपत्र प्रक्रियामा जाँदा निर्माण कम्पनीसँग करसहित १६ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भयो । २०७८ असार १५ भित्र चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तल निर्माण गरिसक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको उहाँले बताउनुभयो ।

लकडाउनका कारण निर्माणाधीन अवस्थामै रोकिएर अलपत्र परेको बाराही पिठस्थित सत्तल (२४ लाख ९८ हजार रुपैयाँ) लागत), राममन्दिर परिसरको सत्तल (३ करोड ६५ लाख रुपैयाँ), हनुमानघाटस्थित सत्तल (४ करोड ५० लाख रुपैयाँ) पुनर्निर्माण सम्पन्न भएको छ ।

सूर्यविनायक मन्दिर परिसरको सत्तल (२० लाख रुपैयाँ), हिन्चोक भैरवस्थित सत्तल (२५ लाख ६० हजार), बलम्बु पाटी चाँगुनारायण (३५ लाख रुपैयाँ), भिमसेन पाटी (४० लाख रुपैयाँ लागत) संरक्षण तथा पुनर्निर्माण सम्पन्न भएको छ । वर्षातको मौसममा निर्माणाधीन सम्पदा अलपत्र छोड्दा थप क्षति पुग्ने डरले सिमित कालिगढ/कामदार कै भरमा पुनर्निर्माण गरेको उहाँले बताउनुभयो ।

त्यस्तै, भक्तपुर नगरपालिकाले उपभोक्ता समिति मार्फत लकडाउन अवधिमै श्रमदाताको सहयोगमा विश्वसम्पदामा सुचीकृत पाँचतले (ङातापोल) मन्दिर जीर्णोद्धार सम्पन्न गरेको छ । भक्तपुर नगरले उपभोक्ता समिति मार्फत भक्तपुर दरबार स्क्वायर परिसरको भूकम्पले क्षतिग्रस्त बत्सला देवी (नित्य बत्सला) मन्दिरलाई ढड्याएको छ ।

मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार लकडाउन अवधिमै नगरपालिकाले भूकम्पका कारण क्षतिग्रस्त सिद्धि गणेश मन्दिर नगदेश, बाहाखा बजार भिमसेन मन्दिर, बाहाखा बजारकै महादेव मन्दिर, कालिका मन्दिर सत्तल, दथुटोल पाटी, भुंलाखेल भजन पाटी, दिगु बाहा: सत्तल, दथु बाहा: सत्तल पुनर्निर्माण गरेको छ । नगरपालिकाको करिब ५ करोड ३० लाख रुपैयाँ र स्थानीयबासिन्दाको जनश्रमदान सहयोगमा उक्त क्षतिग्रस्त सम्पदा पुनर्निर्माण भएको उहाँले बताउनुभयो ।

पुरातत्व विभागका अनुसार बहुवार्षिक योजना अनुरुप सुरु भई लकडाउनका कारण रोकिएको भक्तपुर दरबार स्क्वायर परिसरको फसिदेग (सिलु महादेव) मन्दिर, राष्ट्रियकला संग्रहालयसँगैको महानगरीय प्रहरी प्रभाव दरबार स्क्वायरको भवन, मध्यपुर थिमि नगदेशस्थित गणेश मन्दिर सत्तल, मध्यपुर थिमिकै बप्पा (विश्वेश्वर) मन्दिरको पुनर्निर्माणले सुरु भएको जनाएको छ ।

लकडाउनले पुनर्निर्माणमा ढिलाई :

कोभिड–१९ संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले चैत्र ११ बाट लकडाउनको घोषणा गर्‍यो । २०७२ बैशाखको भूकम्पका कारण क्षतिग्रस्त सम्पदा पुनर्निर्माणमा खटिएका कामदार लकडाउन सुरु भएपछि आ–आफ्नो घर गए । 

लकडाउनलाई केही खुकुलो गरेपनि उपत्यका बाहिर गएका सिकर्मी, डकर्मी लगायत कालिगढ सहजै आउन सक्ने अवस्था छैन । ‘निर्माण सामग्री ढुवानी, कामदार आवतजावतमा कठीनाई अझै बढ्दो छ,’ पुरातत्व अधिकृत मोहन सिंह लामाले भन्नुभयो, ‘अधिकांश कामदार उपत्यका बाहिर कै छ, सीमित कामदारको भरमा समयमै काम सक्न मुश्किल छ ।’

लकडाउनले सम्पदा पुनर्निर्माणको मुख्य निर्माण सामग्री काठ अभाव हुँदा पुनर्निर्माणमा ढिलाई भएको समेत जनाएको छ । ‘तत्कालै काठ किन्न सक्ने अवस्था छैन, टिम्बर कर्पोरेशन अफ नेपालले आवश्यक काठ उपलब्ध गरेको छैन,’ उहाँले भन्नुभयो, ‘लकडाउनका कारण काठ संकलनमा निकै समस्या भएको छ ।’ 

सरकारले भूकम्पका कारण क्षतिग्रस्त सम्पदा पुनर्निर्माणका लागि १२ लाख क्यू फिट काठ उपलब्ध गराउने भने पनि सम्पदा निर्माणमा चाहिने पर्याप्त काठ अभाव छ । मौलिकशैलीका संरचना निर्माणमा अन्य निर्माण सामग्री जतिकै काठ महत्वपूर्ण र आवश्यक छ ।


प्रतिक्रिया