चार दिनपछि दूई अध्यक्षबीच छलफल हुँदै

असार ३०, २०७७ | काठमाडौं

सत्तारुढ नेकपामा पार्टीभित्रको अन्तरविरोध र किचलो अन्त्य तथा निकासका लागि अध्यक्षद्धय आजपनि छलफलमा जुट्दैछन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालवीच अपरान्ह छलफल हुन लागेको हो । 

सहमतिका लागि भन्दै स्थायी समिति बैठक साउन २ गते सम्मका लागि स्थगित भएपनि शनिवार यता दुई अध्यक्षबीच छलफल हुन सकेको थिएन । काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह अध्यक्ष ओली र दाहालवीच छलफल हुने स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

नेकपा नेता सुवास नेम्वाङले मुलुकभरको बाढी पहिरोका कारण बैठक प्रभावित भएकाले आगामी २ गते बैठक बस्नु अघि दुई अध्यक्षले सहमति गर्नुको विकल्प नभएको बताउनुभयो । बैठक एकएक प्रधानमन्त्रीको राजीनामामा केन्द्रीत भएपछि नेकपाको शक्ति संघर्ष चुलिएको छ । दुई अध्यक्षवीचका पछिल्ला बैठक प्रधानमन्त्रीको राजीनामा देखि आगामी महाधिवेशन तथा राष्ट्रिय राजनीतिका थुप्रै विषयमा छलफल भएपनि सहमति भईसकेको छैन ।

सरकार सञ्चालन देखि पार्टी व्यवस्थापन सम्म सहमति गर्नुपर्ने भएकाले एकैचोटी परिणाम आउन नसकेको दाहाल निकट एक नेताले बताए ।


प्रतिक्रिया