पहिरोले घर बगाउँदा २ जनाको मृत्यु

श्रावण १३, २०७७ | रुकुम पश्चिम

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९, स्यालामा पहिरोले एक घर बगाउँदा २ जनाको मृत्यु भएको छ । रातभर परेको अविरल बर्षापछि खसेको पहिरोले स्थानीय जसबीर कामीको घर बगाएको थियो । 

पहिरोले घर बगाउँदा जसबीरका छोरा २२ वर्षीय नविन विक र छिमेकी हस्तबहादुर सुनारका छोरा १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु ४ जनाको भने उद्दार गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । 

आज विहान करिब ४ बजेतिर घरदेखि १० मिटरमाथिबाट आएको पहिराले सो घर झण्डै डेढ सय मिटर तल रहेका किमाना खोलामा पुर्‍याएको छ । घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयले जिवितै उद्दार गरेका थिए भने तल्लो तलामा सुतेका नविन र बलबहादुर घरसँगै बगेका थिए ।

पहिरो हटाएर उनीहरुको शव निकालेको घटना स्थलमा रहेका प्रहरी चौकी मग्मा इन्चार्ज प्रहरी सहायक निरीक्षक हरि देवकोटाले जानकारी दिनुभयो ।  


प्रतिक्रिया