संक्रमितको उपचारमा अस्पतालबीच समन्वय अभाव

श्रावण २१, २०७७ | सुनसरी

कोरोना संक्रमितको उपचार सेवामा पूर्वका विभिन्न अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समन्वय अभाव देखिएको छ । प्रतिष्ठान आफैले बुधबार पूर्वका विभिन्न अस्पताललाई समन्वय गर्न अनुरोध गर्दै जारी गरेको सार्वजनिक विज्ञप्तिमा समन्वय अभावका कारण कोरोना संक्रमितको उपचारमा समस्या भएको उल्लेख गरिएको छ ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले समन्वय नगरी संक्रमित बिरामी पठाउँदा सृजना हुने परिस्थितिको जिम्मेवार बिरामी रिफर गर्ने संस्था वा व्यक्ति नै हुने बताउनुभयो । सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वीपी प्रतिष्ठानसँग समन्वय नै नगरी अन्य बिरामीलाई रिफर गरे जस्तो एक्कासी एम्बुलेन्समा ल्याइदिने गर्दा समस्या उत्पन्न भएको छ ।’

एक दुई चोटीलाई त ठिकै छ तर बारम्बार समन्वय अभाव दोहोरिँदा संक्रमित व्यक्तिले थप सास्ती खेप्नु पर्ने, उपचारमा समस्या भोग्नु पर्ने भएकाले रिफर गर्ने अस्पताल वा संस्थाहरुलाई सचेत गराउन बाध्य भएको प्रवक्ता डा. सापकोटाले बताउनुभयो । कोरोना संक्रमितका लागि उपचार गर्ने प्रदेश कै प्रमुख अस्पताल भएपनि सीमित शैय्या र आइसीयू भएकाले कम्तिमा अग्रिम जानकारी दिए व्यवस्थापन गर्न पनि सहज हुने उहाँको भनाई छ ।

पछिल्लो समयमा संक्रमितको संख्या बढेको सन्दर्भमा उहाँले भन्नुभयो, ‘शैय्या र आइसीयू नै खाली नभएको अवस्थामा एक्कासी संक्रमित बिरामी ल्याउँदा संक्रमितले अनावश्यक सास्ती भोग्नु पर्छ । उपचार पनि प्रभावकारी हुन्न ।’

उहाँले प्रतिष्ठान चिकित्साशास्त्रको उच्च तहसम्म अध्ययन अध्यापन, अनुसन्धान र बिरामी उपचार गर्ने स्वास्थ्य शैक्षिक संस्था मात्र नभएर प्रदेश १ र २ को प्रमुख अस्पताल पनि भएकाले कोरोना संक्रमितको उपचारका लागि सीमित श्रोत साधन र जनशक्तिलाई ख्याल गरेर समन्वय अनिवार्य भएको बताउनुभयो । 

यसअघि पटकपटक पूर्वका केही अस्पतालहरुले कोरोना संक्रमितलाई प्रतिष्ठानमा समन्वय नगरी ल्याउदा घण्टौंसम्म बाहिर राख्नु परेको थियो । ल्याइएका संक्रमितका लागि शैय्या वा आइसीयूको व्यवस्थापन गर्दा बिरामीले घण्टौं बाहिर बस्नु परेको थियो । 

प्रवक्ता सापकोटाले भन्नुभयो, ‘हामीलाई आधिकारिक रुपमा पूर्व जानकारी दिए सोही अनुसार संक्रमितका लागि शैय्या र आइसीयूको व्यवस्थापन गर्न सक्छौं ।’ प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा १० जनाले आइसीयू सेवा लिएको र २ सय ८३ जना उपचारपछि डिस्चार्ज भएको उहाँले बताउनुभयो । हाल ८१ जना संक्रमित उपचाररत रहेका छन् । 


प्रतिक्रिया