शवले नमुना निकालेर पीसीआर परीक्षण गर्नु नपर्ने : स्वास्थ्य मन्त्रालय

भाद्र ३१, २०७७ | काठमाडौं

शंकास्पद मृत्यु भएकाको नमुना निकालेर पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण सम्बन्धमा शवबाट नमूना निकाली पीसीआर परीक्षण नगर्न र नगराउन निर्देशन दिएको हो ।

 मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाएर दाहसंस्कार गर्ने र निजको सम्पर्कमा आएकाहरु अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने बताउनुभयो । उहाँले यस सम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने पनि जानकारी गराउनुभयो । यस्तै मन्त्रालयले सबै प्रयोगशालालाई कोभिड १९ को परीक्षणका लागि लिएका नमूना नेगेटिभ नतिजा आएकाहरु १ महिना र पोजिटिभ आएकाहरु ३ महिनासम्म स्टोर गर्न निर्देशन दिएको छ । 

प्रवक्ता डा. गौतमले पीसीआर परीक्षण रिपोर्ट दिंदा सिटिभ्यालु समेत उल्लेख गरेर दिन प्रयोगशालालाई आग्रह गर्नुभयो । सिटी भ्यालुले कति चक्रमा शंकास्पद नमूनाको भाइरसको अवशेष देखियो भन्ने जानकारी दिन्छ । मन्त्रालयले क्रिटिकल केयर विज्ञसहित टोली गठन गरी विभिन्न अस्पतालको सघन उपचार कक्षमा दिइएको सेवाका बारे अनुगमन गर्ने पनि जनाएको छ ।


प्रतिक्रिया