बडादशैं शुरु

कार्तिक १, २०७७ | काठमाडौं

नेपालीहरुको महान पर्व बडादशैं सुरु भएको छ । हिन्दु परम्पराअुनसार आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपुर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । 

पूजा कोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी देवी मानिने दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात जौं रोपिन्छ । यसलाई नै जमरा राख्ने भनिन्छ । 

यो बर्ष घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४६ मिनेटमा परेको छ । शुभसाइतमै काठमाडौंको हनुमानढोका दरबारस्थित दशंैघरमा घटस्थापना गर्ने चलन छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । 

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । 

बडादशैंका अवसरमा काठमाडौंको नक्साल भगवती, शोभा भगवती, नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष भने कोरोना महामारीका कारण सबैजसो मन्दिर बन्द छन् । शक्तिपीठहरुमा नित्य पूजा भने गरिने जनाइएको छ । 

आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजाराधना गरिने देवीलाई कात्तिक १० गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूलप्रसाद ग्रहण गरिन्छ । यो वर्ष टिकाको उत्तम साइत १० बजेर १९ मिनेटमा रहेको छ । विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने परम्परा रहिआएको छ । 


प्रतिक्रिया