दशैं भत्ता फिर्ता र कोरोना संक्रमितको निशुल्क उपचार गर्न कांग्रेसको माग

कार्तिक ३, २०७७ | काठमाडौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सांसदलाई दिएको दशैं भत्ता फिर्ता गराउन र कोरोना संक्रमितको निशुल्क उपचार गर्नका लागि सरकारसँग माग गरेको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो दलका सबै सांसदलाई दशैं भत्ता बापत आएको रकम फिर्ता गर्न पनि निर्देशन दिनुभयो । 

सभापति देउवाले बिहान संसदीय दलका पदाधिकारीसँग छलफल गरेर सबै सांसदलाई दशैं भत्ता फिर्ता गर्नका लागि निर्देशन दिनु भएको हो । संसदीय दलमा परामर्श गरेर दशैं भत्ताबापत प्राप्त रकम फिर्ता गर्नका लागि सभापति तथा संसदीय दलका नेताले संसदीय दलका पदाधिकारीसँग छलफल गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

कांग्रेसले कोरोना संक्रमितको निशुल्क उपचार गर्न पनि सरकारसँग माग गरेको छ । महामारीको बेलामा नै जनतालाई सरकार आवश्यक पर्ने भन्दै संक्रमित आफैंले उपचार गर्नुपर्ने भन्ने सरकारको निर्णय फिर्ता गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ । 

सरकार कोरोना परीक्षण र उपचारको दायित्वबाट पन्छिन खोजेर गैरजिम्मेवार बनेको कांग्रेसको भनाई छ । कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरू तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव व्यवस्थापनमा लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको कांग्रेसको भनाइ छ । 

कांग्रेसका प्रवक्ता शर्माले विज्ञप्ति जारी गरेर सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका छन् । ‘सर्वोच्च अदालतले संक्रमितको निःशुल्क उपचारको प्रबन्ध गराउन भनी दिएको आदेशसमेत पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारका पछिल्ला निर्णयले मुलुकमा सरकार छ भन्ने कुरामाथि प्रश्न उठन् लागेको शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सांसद विकास कोषको रकम, सांसदलाई दशैं भत्ता दिने रकम लगायत अनावश्यक खर्च कटौती गरेर कोरोना परीक्षण र निशुल्क उपचार गर्नक लागि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ ।


प्रतिक्रिया