कोभिड १९ बाट संक्रमितको परीक्षण र उपचारको प्रवन्ध सरकारले गर्ने प्रधानमन्त्री ओलीको भनाई

कार्तिक ७, २०७७ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रवन्ध सरकारले गर्ने बताउनु भएको छ । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारी विरुद्धको खोपमा जनताको सहज पहुँचका लागि पनि क्रियाशिल रहने उल्लेख गर्नुभयो ।

महामारीबाट जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । महामारीको वेग थामिन केही समय लाग्ने भन्दै उहाँले कोभिड १९ को रोकथाम नियन्त्रण र संक्रमितको उपचारका लागि सम्पूर्ण प्रयास केन्द्रित गरेको बताउनुभयो ।

अहिलेको विषम परिस्थितिमा महान चाड दशैंलाई विगतमा भन्दा फरक ढंगले मनाउनु परेको भन्दै उहाँले रोग प्रतिरोधी क्षमता कमजोर भएका सबैलाई ध्यानमा राखेर दशैं मनाउन आग्रह गर्नुभयो ।

सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारका सन्दर्भमा कर्तब्यबाट विमुख हुन नसक्ने उहाँको भनाई थियो । स्वास्थ्य सुरक्षा र जीवन रक्षाका लागि सरकारले घोषणा गरेको नियमहरुको कडाईका साथ पालना गर्न आग्रह समेत गर्नुभयो ।

संक्रमणका संभावित जोखिमलाई ध्यानमा राखि प्रधानमनत्ती निवासमा हुने बडादशैंको टीका कार्यक्रम नभएको पनि उहाँले घोषणा गर्नुभयो । 


प्रतिक्रिया